YouVersion लोगो
खोज आइकन

मत्ती 13:18-34

मत्ती 13:18-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“बीउ छर्नेको दृष्‍टान्‍त सुन। जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र त्‍यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्‍छ। बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो। ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुसीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ। तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ। काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ। तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।” येशूले फेरि तिनीहरूलाई अर्को दृष्‍टान्‍त सुनाउनुभयो: “स्‍वर्गको राज्‍य एक जना मानिसजस्‍तो हो, जसले आफ्‍नो खेतमा असल बीउ छर्‍यो। तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो। जब बोट निस्‍केर त्‍यसमा दाना लागे, तब सामा पनि देखा पर्‍यो। “घरका मालिकका कमाराहरूले आएर उसलाई भने, ‘हजूर, के तपाईंले आफ्‍नो खेतमा असल बीउ छर्नुभएको होइन? त्‍यहाँ सामा कहाँबाट आयो?’ “घरको मालिकले तिनीहरूलाई भन्‍यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’ “तर उसले भन्‍यो, ‘त्‍यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्‍दा गहूँसमेत उखेल्नेछौ। फसलको समयसम्‍म दुवैलाई सँगसँगै बढ्‌न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्‍नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।” येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो। त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ। आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड़ लाउँछन्‌।” उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलोग्राम पीठोमा मिसाई, र त्‍यो जम्‍मै खमिरले फुलिएर ठीक नभएसम्‍म त्‍यसलाई एक ठाउँमा राखी।” येशूले यी सबै कुरा मानिसहरूलाई दृष्‍टान्‍तमा भन्‍नुभयो। विनादृष्‍टान्‍त उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन।

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:18-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“त्यसैले बिउ छर्नेको दृष्‍टान्तको अर्थ के हो, ध्यानसित सुन: कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्‍ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो। ढुङ्गेनी जमिनमा खसेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्‍नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। तर तिनीहरूका जरा नभएको हुनाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तब तिनीहरू झट्टै पछि हटिहाल्छन्। काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ। तर असल जमिनमा परेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ र बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछ।” येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बिउ छर्‍यो। तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो। जब गहुँ उम्रियो र बाला लाग्यो, तब सामा पनि देखा पर्‍यो। “त्यसैले मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बिउ छर्नुभएको होइन र? तब यो सामा कताबाट आयो त?’ “ ‘कुनै शत्रुले यसो गर्‍यो,’ उसले जवाफ दियो। “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔँ भन्‍ने तपाईं चाहनुहुन्छ?’ “उसले जवाफ दियो, ‘भयो, पर्दैन, नत्रता तिमीहरूले सामासँग-सँगै गहुँ पनि उखेल्नेछौ। कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्‍नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ” उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य एउटा रायोको बिउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो। बिउहरूमा सबैभन्दा सानो भए तापनि जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो भएर झाँगिन्छ, र चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।” उहाँले तिनीहरूलाई अझ अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहुन्जेल राखी।” येशूले भीडलाई यी सबै कुराहरू दृष्‍टान्तहरूमा भन्‍नुभयो; उहाँले दृष्‍टान्तहरू प्रयोग नगरी तिनीहरूलाई केही भन्‍नुभएन।

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:18-34 पवित्र बाइबल (NERV)

“अब किसानको बारेमा उखान सुन: “बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ। “अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ। तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ। “अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढ्ता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निसासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन। “तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।” त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो, त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहूँको बीच-बीचमा सामा छरेर गयो। केही समयपछि गहूँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो, उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’ “त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’ “चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’ “त्यो मानिसले जवाफ दियो, ‘अँहँ, किनभने तिमीहरूले सामा उखेल्दा गहूँ पनि उखेल्न सक्छौ। फसलको समयसम्म सामा र गहूँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, पहिले: सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहूँ बटुल र मेरो भण्डारमा जम्मा गर।’” तब येशूले मानिसहरूलाई अर्को उखान भन्नु भयो: “स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।” येशूले अर्को उखान भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।” येशूले मानिसहरूलाई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहरूलाई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन।

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्

मत्ती 13:18-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“अब बिउ छरेको दृष्‍टान्‍तको अर्थ सुन। कति मानिसहरूले परमेश्‍वरको राज्‍यको बारेमा शिक्षा सुन्‍न त सुन्‍छन्, तर बुझ्‍दैनन् अनि दुष्‍ट आएर उनीहरूको मनमा परेको शिक्षा टिपेर लगिहाल्‍छ। यो त बाटोमा परेको बिउजस्‍तो भयो। अनि ढुङ्गेनी जमिनमा परेको बिउले बुझाउँछ कि कति जना मानिसले चाहिँ परमेश्‍वरका शिक्षा सुन्‍नासाथ खुसी भएर मनमा लिन्‍छन्। तर यो शिक्षा तिनीहरूको मनमा राम्ररी गडेकै हुँदैन र थोरै बेर मात्र रहन्‍छ। परमेश्‍वरको शिक्षा मानेका कारणले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले यो शिक्षालाई छोडिहाल्‍छन्। फेरि कति जना मानिसको मनचाहिँ काँडाको घारीजस्‍तै हुन्‍छ। तिनीहरूले परमेश्‍वरको शिक्षा सुनेर पनि यस संसारको चिन्‍ता गर्छन् र धन-सम्‍पत्तिको मायामा फस्‍छन्। त्‍यसैले तिनीहरूले सुनेको शिक्षा हराएर जान्‍छ र कुनै पनि फल फलाउँदैन। तर कति जना मानिसको मनचाहिँ मलिलो माटोजस्‍तै हुन्‍छ। तिनीहरूले भने परमेश्‍वरको शिक्षा सुनेर बुझ्‍छन् र सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।” येशूले फेरि दृष्‍टान्‍त भन्‍नुभयो, “हेर, परमेश्‍वरको राज्‍य आफ्‍नो बारीमा राम्रो बिउ छर्ने एक जना मानिसजस्‍तो हुन्‍छ। शत्रुले राती सबै सुतेको मौका छोपेर त्‍यही असल गहुँ छरेको बारीमा सामाको बिउ छरिदियो। अब गहुँ बढेर बाला लाग्‍दा सामा पनि देखा पर्‍यो । अनि बारीको धनीका नोकरहरूले आएर तिनलाई भने, ‘हजुर, तपाईंले बारीमा राम्रो बिउ छर्नुभएको होइन र? हेर्नुहोस् त, यो सामा कहाँबाट आयो?’ तिनले भने, ‘कुनै शत्रुले यसो गरिदियो होला।’ नोकरहरूले सोधे, ‘त्‍यसो भए हामी गएर ती सामाहरू उखेलौं त?’ तर बारीका धनीले भने, ‘होइन, अहिले नउखेल। यदि सामा उखेल्‍न लाग्‍यौ भने त झुक्‍किएर गहुँ पनि उखेलिनेछ। बरु बाली थन्‍क्‍याउने बेला नभएसम्‍म दुवैलाई सँगसँगै बढ्‍न देओ अनि बाली थन्‍क्‍याउने बेलामा म खेतालाहरूलाई ‘पहिले सामा जम्‍मा गरेर आगोमा डढाउन मुठो पार अनि गहुँचाहिँ उठाएर भकारीमा राख’ भन्‍नेछु।” येशूले फेरि अर्को एउटा दृष्‍टान्‍तको रूपमा शिक्षा दिनुभयो, “परमेश्‍वरको राज्‍य रायोको बिउजस्‍तो हुन्‍छ। एउटा मान्‍छेले रायोको बिउ लिएर आफ्‍नो बारीमा छर्छ। बिउहरूमा सबभन्दा सानो भए पनि उम्रेपछि त्‍यो बारीमा हुने अरू बोटभन्दा ठूलो हुन्‍छ अनि चरा-चुरुङ्गी आएर यसका हाँगा-बिँगामा गुँड बनाएर बस्‍छन्।” अनि फेरि पनि येशूले अर्को एउटा दृष्‍टान्‍त दिँदै भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य रोटी फुलाउने खमिरजस्‍तो हुन्‍छ। एउटी स्‍त्रीले अलिकति खमिर लिएर तीन पाथी जति पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!” येशूले मानिसहरूलाई सबै कुरा दृष्‍टान्‍तको रूपमै भन्‍नुहुन्‍थ्‍यो। उहाँले तिनीहरूलाई दृष्‍टान्‍तबिना शिक्षा दिनुभएन

शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्