“त्यसैले बिउ छर्नेको दृष्टान्तको अर्थ के हो, ध्यानसित सुन: कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो। ढुङ्गेनी जमिनमा खसेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। तर तिनीहरूका जरा नभएको हुनाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तब तिनीहरू झट्टै पछि हटिहाल्छन्। काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ। तर असल जमिनमा परेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ र बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछ।” येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बिउ छर्यो। तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो। जब गहुँ उम्रियो र बाला लाग्यो, तब सामा पनि देखा पर्यो। “त्यसैले मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बिउ छर्नुभएको होइन र? तब यो सामा कताबाट आयो त?’ “ ‘कुनै शत्रुले यसो गर्यो,’ उसले जवाफ दियो। “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔँ भन्ने तपाईं चाहनुहुन्छ?’ “उसले जवाफ दियो, ‘भयो, पर्दैन, नत्रता तिमीहरूले सामासँग-सँगै गहुँ पनि उखेल्नेछौ। कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ” उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य एउटा रायोको बिउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो। बिउहरूमा सबैभन्दा सानो भए तापनि जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो भएर झाँगिन्छ, र चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।” उहाँले तिनीहरूलाई अझ अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहुन्जेल राखी।” येशूले भीडलाई यी सबै कुराहरू दृष्टान्तहरूमा भन्नुभयो; उहाँले दृष्टान्तहरू प्रयोग नगरी तिनीहरूलाई केही भन्नुभएन।
मत्ती 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 13:18-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू