“बीउ छर्नेको दृष्टान्त सुन। जब कसैले राज्यको वचन सुन्छ, र सो बुझ्दैन, तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्छ। बाटोतिर छरिएको बीउचाहिँ त्यही हो। ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्ने बित्तिकै खुसीसाथ झट्टै त्यो स्वीकार गर्दछ। तर त्यसको आफ्नै जरा नभएकोले त्यो थोरै बेर मात्र टिक्छ, र वचनको कारणले कष्ट कि सतावट परिआउने बित्तिकै त्यो पछि हट्छ। काँढ़ाहरूमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन-सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ, र त्यो फल नदिने हुन्छ। तर असल जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, र बुझ्दछ, र साँच्चै फल फलाउँछ। त्यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”
येशूले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनुभयो: “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले आफ्नो खेतमा असल बीउ छर्यो। तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो। जब बोट निस्केर त्यसमा दाना लागे, तब सामा पनि देखा पर्यो।
“घरका मालिकका कमाराहरूले आएर उसलाई भने, ‘हजूर, के तपाईंले आफ्नो खेतमा असल बीउ छर्नुभएको होइन? त्यहाँ सामा कहाँबाट आयो?’
“घरको मालिकले तिनीहरूलाई भन्यो, ‘कुनै शत्रुले यसो गरेको हो।’
कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’
“तर उसले भन्यो, ‘त्यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्दा गहूँसमेत उखेल्नेछौ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।”
येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो। त्यो सबै बीउहरूमा सानो हुन्छ, तर जब बढ्छ, तब त्यो सबै सागपातहरूभन्दा ठूलो हुन्छ र रूख नै भइहाल्छ। आकाशका चराचुरुङ्गीहरू आएर त्यसका हाँगाहरूमा गुँड़ लाउँछन्।”
उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी।”
येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन।