“अब बिउ छरेको दृष्टान्तको अर्थ सुन। कति मानिसहरूले परमेश्वरको राज्यको बारेमा शिक्षा सुन्न त सुन्छन्, तर बुझ्दैनन् अनि दुष्ट आएर उनीहरूको मनमा परेको शिक्षा टिपेर लगिहाल्छ। यो त बाटोमा परेको बिउजस्तो भयो। अनि ढुङ्गेनी जमिनमा परेको बिउले बुझाउँछ कि कति जना मानिसले चाहिँ परमेश्वरका शिक्षा सुन्नासाथ खुसी भएर मनमा लिन्छन्। तर यो शिक्षा तिनीहरूको मनमा राम्ररी गडेकै हुँदैन र थोरै बेर मात्र रहन्छ। परमेश्वरको शिक्षा मानेका कारणले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले यो शिक्षालाई छोडिहाल्छन्। फेरि कति जना मानिसको मनचाहिँ काँडाको घारीजस्तै हुन्छ। तिनीहरूले परमेश्वरको शिक्षा सुनेर पनि यस संसारको चिन्ता गर्छन् र धन-सम्पत्तिको मायामा फस्छन्। त्यसैले तिनीहरूले सुनेको शिक्षा हराएर जान्छ र कुनै पनि फल फलाउँदैन। तर कति जना मानिसको मनचाहिँ मलिलो माटोजस्तै हुन्छ। तिनीहरूले भने परमेश्वरको शिक्षा सुनेर बुझ्छन् र सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।” येशूले फेरि दृष्टान्त भन्नुभयो, “हेर, परमेश्वरको राज्य आफ्नो बारीमा राम्रो बिउ छर्ने एक जना मानिसजस्तो हुन्छ। शत्रुले राती सबै सुतेको मौका छोपेर त्यही असल गहुँ छरेको बारीमा सामाको बिउ छरिदियो। अब गहुँ बढेर बाला लाग्दा सामा पनि देखा पर्यो । अनि बारीको धनीका नोकरहरूले आएर तिनलाई भने, ‘हजुर, तपाईंले बारीमा राम्रो बिउ छर्नुभएको होइन र? हेर्नुहोस् त, यो सामा कहाँबाट आयो?’ तिनले भने, ‘कुनै शत्रुले यसो गरिदियो होला।’ नोकरहरूले सोधे, ‘त्यसो भए हामी गएर ती सामाहरू उखेलौं त?’ तर बारीका धनीले भने, ‘होइन, अहिले नउखेल। यदि सामा उखेल्न लाग्यौ भने त झुक्किएर गहुँ पनि उखेलिनेछ। बरु बाली थन्क्याउने बेला नभएसम्म दुवैलाई सँगसँगै बढ्न देओ अनि बाली थन्क्याउने बेलामा म खेतालाहरूलाई ‘पहिले सामा जम्मा गरेर आगोमा डढाउन मुठो पार अनि गहुँचाहिँ उठाएर भकारीमा राख’ भन्नेछु।” येशूले फेरि अर्को एउटा दृष्टान्तको रूपमा शिक्षा दिनुभयो, “परमेश्वरको राज्य रायोको बिउजस्तो हुन्छ। एउटा मान्छेले रायोको बिउ लिएर आफ्नो बारीमा छर्छ। बिउहरूमा सबभन्दा सानो भए पनि उम्रेपछि त्यो बारीमा हुने अरू बोटभन्दा ठूलो हुन्छ अनि चरा-चुरुङ्गी आएर यसका हाँगा-बिँगामा गुँड बनाएर बस्छन्।” अनि फेरि पनि येशूले अर्को एउटा दृष्टान्त दिँदै भन्नुभयो, “परमेश्वरको राज्य रोटी फुलाउने खमिरजस्तो हुन्छ। एउटी स्त्रीले अलिकति खमिर लिएर तीन पाथी जति पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!” येशूले मानिसहरूलाई सबै कुरा दृष्टान्तको रूपमै भन्नुहुन्थ्यो। उहाँले तिनीहरूलाई दृष्टान्तबिना शिक्षा दिनुभएन
मत्ती 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 13:18-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू