YouVersion लोगो
खोज आइकन

मत्ती 12:30-42

मत्ती 12:30-42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“जो मेरो साथ छैन, त्‍यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्‍दैन, त्‍यसले छरपष्‍ट पार्छ। त्‍यसैकारण म तिमीहरूलाई भन्‍दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्‍वर-निन्‍दा क्षमा हुनेछ, तर पवित्र आत्‍माको विरुद्धमा गरिएको निन्‍दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्‍यो भने त्‍यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्‍माको विरुद्धमा बोल्‍यो भने त्‍यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन। “कि रूखलाई असल बनाओ, र त्‍यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्‍यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्‍छ। ए सर्पका बच्‍चा हो! तिमीहरू आफै दुष्‍ट छौ, असल कुरा कसरी बोल्‍न सक्‍छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्‍कन्‍छन्‌। असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्‍छ, तर दुष्‍ट मानिसले आफूमा भरिएको दुष्‍टताबाट दुष्‍ट थोक नै निकाल्‍छ। म तिमीहरूलाई भन्‍दछु, हरेक व्‍यर्थको कुरा जो मानिसहरू बोल्‍दछन्, न्‍यायको दिनमा तिनीहरूले त्‍यसको लेखा दिनुपर्नेछ।’ किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।” तब शास्‍त्रीहरू र फरिसीहरूमध्‍ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्‍यू, हामी तपाईंबाट एउटा चिन्‍ह हेर्न चाहन्‍छौं।” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ। तर यस पुस्‍तालाई योना अगमवक्ताको चिन्‍हबाहेक अरू चिन्‍ह दिइनेछैन। किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्‍वीको गर्भमा तीन दिन र तीन रात रहनेछ। निनवेका मानिसहरू न्‍यायको दिनमा यस पुस्‍ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरेथे, तर हेर, योनाभन्‍दा महान्‌ कोही यहाँ छ। दक्षिणकी महारानी न्‍यायको दिनमा यस पुस्‍ताको साथ खड़ा हुनेछिन्, र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्‍वीको पल्‍लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्‍नलाई आइन्‌। तर हेर, सोलोमनभन्‍दा महान्‌ कोही यहाँ छ।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:30-42 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ। “रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, र त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ। हे सर्पका सन्तान हो, तिमीहरू दुष्‍ट भईकन कसरी केही कुरालाई असल भन्‍न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू निकाल्छ, र दुष्‍ट मानिसले आफ्नो दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ। किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।” एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।” उहाँले जवाफ दिनुभयो, “दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन। किनकि जसरी योना एउटा विशाल माछाको पेटमा तीन दिन र तीन रात रहेका थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीभित्र तीन दिन र तीन रात रहनेछ। न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरेका थिए; तर हेर योनाभन्दा महान् एक जना यहाँ छन्। न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्‍नलाई पृथ्वीको पल्‍लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एक जना यहाँ छन्।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:30-42 पवित्र बाइबल (NERV)

जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ। “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै। “यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ। असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ। यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।” तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।” येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक। तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ। अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ। “न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:30-42 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“मसँग नलाग्‍ने मानिस मेरो विरोधी हो। मलाई बटुल्‍न नसघाउनेले मैले बटुलेको पनि छरपस्‍ट गरिदिन्‍छ। यसकारण म तिमीहरूलाई भन्‍छु, मानिसले गरेको सबै पाप र निन्‍दाहरू मेटिन सक्‍छ, तर पवित्र आत्‍माको निन्‍दा गर्ने पापचाहिँ मेटिनेछैन। म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्‍मालाई निन्‍दा गर्ने पापचाहिँ न यस युगमा न त अर्को युगमा, कहिल्‍यै पनि माफ गरिनेछैन। “सप्रेको फल फल्‍न रूख पनि त सप्रेको हुनुपर्छ। रूख नै सप्रिएको छैन भने फल पनि सप्रिंदैन! रूख फलबाटै चिनिन्‍छ। हे विषालु सर्पका सन्‍तानहरू हो! दुष्‍ट भएर तिमीहरू कसरी असल कुरा गर्न सक्‍छौ? जे मनमा छ, त्‍यही नै मानिसले बोल्‍दछ। असल मानिसले आफ्‍नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्‍छ। खराब मानिसले खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्‍छ। म तिमीहरूलाई भन्‍छु, नचाहिँदो कुरा बोल्‍नेले न्‍यायको दिनमा त्‍यसको एक-एक लेखा दिनुपर्नेछ। तिमीहरूले बोलेका कुराले नै तिमीहरू न्‍यायको दिनमा दोषी वा निर्दोष ठहरिनेछौ।” केही धर्म-गुरु र फरिसीहरू मिलेर येशूलाई भने, “गुरु, एउटा चिन्‍ह देखाउनुहोस्, हामी हेर्न चाहन्‍छौं।” येशूले भन्‍नुभयो, “अहो, हिजो-आजका मानिसहरू कति दुष्‍ट र व्‍यभिचारी छन्! यिनीहरू शक्तिशाली चिन्‍ह हेर्न खोज्‍छन्। तर अगमवक्ता योनाको चिन्‍हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्‍ह देख्‍न पाउनेछैनन् किनभने जसरी योनाले ठूलो माछाको पेटभित्रै तीन दिन र तीन रात बिताए, त्‍यसरी नै मानव पुत्रले पनि तीन दिन र तीन रात माटोमुनि बिताउनेछ। न्‍यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्‍वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्‍नो पापबाट पश्‍चात्ताप गरे। तर हेर, योनाभन्दा पनि ठूलो यहाँ कोही छ। न्‍यायको दिनमा दक्षिणको शेबा देशकी रानीले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछिन् किनभने सोलोमन राजाको ज्ञानको कुरा सुन्‍न तिनी धेरै टाढाबाट धाएर आइन्। तर हेर, सोलोमनभन्दा पनि ठूलो यहाँ कोही छ।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्