“जो मेरो साथ छैन, त्यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ। त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन। “कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्छ। ए सर्पका बच्चा हो! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।’ किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।” तब शास्त्रीहरू र फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्यू, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौं।” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ। तर यस पुस्तालाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन। किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ। निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, तर हेर, योनाभन्दा महान् कोही यहाँ छ। दक्षिणकी महारानी न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछिन्, र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्नलाई आइन्। तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छ।
मत्ती 12 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 12:30-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू