“जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ। “रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, र त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ। हे सर्पका सन्तान हो, तिमीहरू दुष्ट भईकन कसरी केही कुरालाई असल भन्न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू निकाल्छ, र दुष्ट मानिसले आफ्नो दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ। किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।” एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।” उहाँले जवाफ दिनुभयो, “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन। किनकि जसरी योना एउटा विशाल माछाको पेटमा तीन दिन र तीन रात रहेका थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीभित्र तीन दिन र तीन रात रहनेछ। न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए; तर हेर योनाभन्दा महान् एक जना यहाँ छन्। न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्नलाई पृथ्वीको पल्लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
मत्ती 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 12:30-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू