YouVersion लोगो
खोज आइकन

रोमी 5:12-18

रोमी 5:12-18 NCV

यसकारण जसरी एक जना मानिस आदमद्वारा संसारमा पाप प्रवेश गर्‍यो, र पापद्वारा मृत्यु आयो। यसरी नै सबै मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्। किनकि व्यवस्था दिइनुअगि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन। तर आदमदेखि मोशासम्म नै मृत्युले शासन गर्‍यो। तिनीहरूमाथि पनि आइलाग्यो जसले आदमले जस्तो आज्ञा तोडेर पाप गरेका थिएनन्। आदम, जो पछि आउनुहुनेका एक प्रतिरूप हुन्। तर परमेश्‍वरको वरदान अपराध जस्तो होइन; किनकि यदि एउटै मानिस आदमको अपराधको कारणले धेरै जना मरे भने त्योभन्दा कति धेरै परमेश्‍वरको अनुग्रह तथा एक जना मानिसको, अर्थात् येशू ख्रीष्‍टको अनुग्रहको वरदान धेरैका लागि प्रशस्त भयो! परमेश्‍वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो। किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्‍यो भने एउटै मानिस येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ! यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो।

रोमी 5 पढ्नुहोस्