रोमी 5
5
शान्ति र आशा
1यसकारण हामी विश्वासद्वारा धर्मी ठहराइएको हुनाले प्रभु येशू ख्रीष्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाएका छौं। 2अनि ख्रीष्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौं। अनि परमेश्वरको महिमाको आशामा हामी रमाउँछौं। 3यति मात्र होइन, तर हाम्रो दुःखकष्टमा पनि हामी रमाउँछौं, किनकि हामी जान्दछौ दुःखकष्टले सहनशीलता, 4सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ। 5यो आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ।
6हामीहरू असहाय छँदै, समयको पूर्णतामा ख्रीष्ट अधर्मीहरूका निम्ति मर्नुभयो। 7धर्मी मानिसको निम्ति मर्न तयार हुने कोही पाइएला, असल मानिसको निम्ति सायद कसैले मर्ने आँट पनि गर्ला, 8तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदा-छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
9ख्रीष्टको रगतद्वारा हामी धर्मी ठहराइएका हुनाले परमेश्वरको क्रोधबाट उहाँद्वारा निश्चय नै बचाइनेछौं! 10किनकि हामी परमेश्वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइयौं भने अब परमेश्वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवन मार्फत् अझ बढी बचाइनेछौं। 11यति मात्र होइन, तर परमेश्वरमा हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी आनन्दित हुन्छौं, जसद्वारा हाम्रो मिलाप भएको छ।
आदमद्वारा मृत्यु, येशू ख्रीष्टद्वारा जीवन
12यसकारण जसरी एकजना मानिस आदमद्वारा संसारमा पापले प्रवेश गर्यो, पापद्वारा मृत्यु आयो, र यसरी नै सब मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्।
13किनकि व्यवस्था दिइनुअघि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था हुँदैन, त्यहाँ पापको लेखा पनि हुँदैन। 14तर आदमदेखि मोशासम्म नै मृत्युले शासन गर्यो, तिनीहरूलाई पनि जसले आदमले जस्तो आज्ञा तोडेर पाप गरेका थिएनन्। आदम, जो पछि आउनुहुनेका एक प्रतिरूप हुन्।
15तर परमेश्वरको वरदान अपराधसँग समान हुँदैन; किनकि यदि एकजना मानिस आदमको अपराधले धेरैजना मरे भने त्योभन्दा कति धेरै परमेश्वरको अनुग्रह तथा एकजना मानिस येशू ख्रीष्टको अनुग्रहको वरदानले धेरैका लागि प्रशस्त भयो! 16परमेश्वरको वरदान एकजना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर वरदानले धेरै अपराधहरू पछि पनि निर्दोषीकरण ल्यायो। 17किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटा मानिस येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ।
18यसकारण जसरी एउटाको अपराधले सबै मानिसलाई दण्डको आज्ञा भयो, त्यसरी नै एउटै धार्मिकताको कार्यले पनि सबै मानिसमा निर्दोषीकरण र जीवन ल्यायो। 19जसरी एउटा मानिसको अनाज्ञाकारीताले धेरैजना पापी ठहरिए, त्यसरी नै एकजनाको आज्ञाकारीताले धेरैजना धर्मी ठहराइनेछन्।
20व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि अझ धेरै बढ्यो, 21ताकि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्।
अहिले सेलेक्ट गरिएको:
रोमी 5: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.