के यो आशिष् केवल खतनावालहरूका निम्ति मात्र हो कि खतना नभएकाहरूका निम्ति पनि हो? हामीले भन्दै आएका छौँ, अब्राहामले परमेश्वरमा विश्वास गरेका कारण यो उनका निम्ति धार्मिकता गनिएको थियो। अब्राहामको विश्वास कुन आधारमा धार्मिकता ठहरियो? उनले खतना गरेपछि कि खतना हुनुभन्दा अगि? उनको खतनापछि धर्मी ठहरिएको होइन, तर पहिले नै हो! उनको खतना नहुँदै विश्वासद्वारा पाइने धार्मिकताको छाप खतनाको चिन्हको रूपमा पाएका थिए। त्यसैले उनी खतनाविना नै विश्वासद्वारा धर्मी ठहरिएका सबैका आत्मिकी पिता हुन्। अनि उनी ती खतना भएकाहरूका पनि पिता हुन्, जसको खतना मात्र भएको होइन, तर जो त्यही विश्वासका पाइलामा हिँड्दछन्, जुन विश्वास खतना हुनुभन्दा अगि नै हाम्रा पिता अब्राहाममा थियो। अब्राहाम र उनका सन्तानहरूले संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा पाएका थिएनन्, तर विश्वासबाट आउने धार्मिकताद्वारा प्राप्त गरेका थिए। यदि व्यवस्थामा भर पर्नेहरू मात्र उत्तराधिकार हुन्छन् भने त विश्वास अनावश्यक र प्रतिज्ञा व्यर्थ हुन्छ। किनकि व्यवस्था भङ्ग गर्नाले परमेश्वरको क्रोध ल्याउँछ। अनि जहाँ व्यवस्था छैन, त्यहाँ अपराध पनि हुँदैन। यसकारण प्रतिज्ञा विश्वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्चित होस्। व्यवस्था मान्नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्वास गर्नेहरूलाई पनि हो। किनकि उनी हामी सबैका पिता हुन्। यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्वरका सामु हाम्रा पिता हुन्। तिनले उनै परमेश्वरमाथि विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका वस्तुहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ। आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्वास गरे; अनि उनलाई भनिएको जस्तै, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए।
रोमी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 4:9-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू