प्रकाश 21
21
नयाँ आकाश र नयाँ पृथ्वी
1तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखें,”#21:1 यशै 65:17 किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन। 2अनि मैले पवित्र शहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैं सिँगारिएर स्वर्गदेखि परमेश्वरबाट तल झरिरहेको देखें। 3अनि मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनें, “हेर! अब परमेश्वरको वास मानिसहरूसित भएको छ, अनि उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका जातिहरू हुनेछन्, अनि परमेश्वर आफै नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ। 4उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब उप्रान्त त्यहाँ मृत्यु, शोक, विलाप अथवा कष्ट हुनेछैन; किनकि पुराना कुराहरू बितिसकेका छन्।”#21:4 यशै 25:8
5सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “म सबै थोक नयाँ बनाउँदैछु!” तब उहाँले भन्नुभयो, “यी वचनहरू लेख, किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।”
6उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा, आदि र अन्त हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैंमा दिनेछु। 7जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्वर र तिनीहरू मेरा सन्तान हुनेछन्। 8तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, मन्त्रतन्त्र गर्नेहरू, मूर्तिपूजकहरू अनि सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।”
नयाँ यरूशलेम, थुमाको दुलही
9सातओटा अन्तिम विपत्तिहरूले भरिएका सातओटा कचौरा लिएका सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी हुन गैरहेकी दुलहीलाई देखाउनेछु।” 10अनि तिनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पर्वतमा लगे, अनि परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र शहर यरूशलेम देखाए। 11त्यो परमेश्वरको महिमाले चम्किरहेको थियो, अनि त्यसको चमक बहुमूल्य रत्नहरूझैं थियो, बिल्लौरझैं र स्फटिकजस्तो सफा थियो। 12त्यसको विशाल र अग्लो पर्खाल थियो, जसमा बाह्रओटा मूल ढोकाहरू थिए, अनि प्रत्येक ढोकामा एक-एक स्वर्गदूत थिए। ती प्रत्येक ढोकामा एक-एक कुलका नाउँ गरेर इस्राएलका बाह्र कुलका नाउँ लेखिएका थिए। 13पूर्वमा तीनओटा, उत्तरमा तीनओटा, दक्षिणमा तीनओटा अनि पश्चिममा तीनओटा ढोकाहरू थिए। 14शहरका पर्खालमा बाह्रओटा शिलाहरूका जग थिए, अनि तिनीहरूमा थुमाका बाह्र प्रेरितहरूका नाउँहरू थिए।
15मसित बोल्ने स्वर्गदूतसित शहर, ढोकाहरू अनि त्यसका पर्खालहरू नाप्ने सुनको लट्ठी थियो। 16त्यो शहर वर्गाकार थियो, अनि त्यसको लम्बाइ र चौडाइ बराबर थियो। तिनले त्यस लट्ठीले शहरहरूलाई नापे, अनि त्यो दुई हजार दुई सय किलोमिटर पाए। त्यसको लम्बाइ, चौडाइ र उचाइ एकसमान थियो। 17स्वर्गदूतले मानिसको नापअनुसार त्यो पर्खाल पनि नापे; त्यो पैंसट्ठी मिटर मोटो थियो। 18त्यो पर्खाल बिल्लौरले बनिएको थियो; अनि शहरचाहिँ निखुर सुनले बनिएको थियो, जुनचाहिँ काँचझैं निखुर थियो। 19शहरको पर्खालका जगहरू प्रत्येक किसिमका बहुमूल्य पत्थरले सिँगारिएका थिए। पहिलो जग बिल्लौर, दोस्रो नीलमणि, तेस्रो लालमणि, चौथो पन्ना, 20पाँचौं सार्डियसमणि, छैटौं गोमेद, सातौं पीतमणि, आठौं फिरोजा, नवौं पुष्पराग, दशौं लसुने, एघारौं धूम्रकान्त र बाह्रौंचाहिँ मर्तिसमणि थियो। 21ती बाह्र ढोकाहरू बाह्र मोती थिए; प्रत्येक ढोका एउटा मोतीले बनिएको थियो। शहरका ठूला सडकचाहिँ छर्लङ्गै देखिने काँचजस्तै निखुर सुनको थियो।
22मैले शहरमा कुनै मन्दिर देखिनँ, किनकि सर्वशक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नै त्यसको मन्दिर हुनुहुन्छ। 23त्यस शहरमा उज्यालो दिनको लागि घाम र जूनको आवश्यकता थिएन, किनकि परमेश्वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, अनि थुमा नै त्यसको बत्ती हुनुहुन्छ। 24त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्डुल गर्नेछन्, अनि पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस शहरमा प्रवेश गर्नेछन्। 25त्यसका ढोकाहरू कहिल्यै बन्द हुनेछैनन्; किनकि त्यहाँ कहिल्यै रात हुनेछैन। 26सबै राष्ट्रहरूका महिमा र सम्मान त्यसमा ल्याइनेछन्। 27त्यसमा कुनै अशुद्ध कुरा पस्न पाउनेछैन, न ता शर्मका र छलका काम गर्ने कोही; तर तिनीहरूले मात्र प्रवेश पाउनेछन्, जसको नाउँ थुमाको जीवनको पुस्तकमा लेखिएका छन्।
अहिले सेलेक्ट गरिएको:
प्रकाश 21: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.