YouVersion लोगो
खोज आइकन

प्रकाश 22

22
जीवनको पानीको नदी
1तब त्यस स्वर्गदूतले मलाई परमेश्‍वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए, 2जुनचाहिँ शहरको मूल बाटोको बीचबाट बगिरहेको थियो। नदीका दुवैतिर प्रत्येक महिना बाह्र किसिमका फलहरू फलाउने जीवनको रूख थियो। ती रूखहरूका पातहरूचाहिँ राष्ट्रहरूलाई निको पार्नको लागि हुन्। 3त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस शहरमा परमेश्‍वरको अनि थुमाको सिंहासन हुनेछ र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्। 4तिनीहरूले उहाँको अनुहार देख्नेछन्, अनि उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। 5अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्‍वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदा-सर्वदा राज्य गर्नेछन्।
यूहन्‍ना र स्वर्गदूत
6ती स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्। परमप्रभु, जो अगमवक्‍ताहरूका आत्माका परमेश्‍वर हुनुहुन्छ, उहाँले उहाँका सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू देखाउनलाई आफ्नो स्वर्गदूत पठाउनुभएको छ।”
7“हेर, म चाँडै आउँदैछु! यस पुस्तकका अगमवाणीका वचनहरू पालन गर्नेहरू धन्यका हुन्।”
8यी कुराहरू सुन्‍ने र देख्ने म, स्वयम् यूहन्‍ना हुँ। अनि जब मैले यी सुनें र देखें, तब यी कुराहरू मलाई देखाइरहने स्वर्गदूतलाई आराधना गर्न भनेर म तिनको पाउमा घोप्टो परें। 9तर ती स्वर्गदूतले मलाई भने, “यसो नगर! म ता तिमीजस्तै एक सङ्गी-सेवक हुँ। म तिम्रा सङ्गी-अगमवक्‍ता र यस पुस्तकका वचनहरू पालन गर्ने ती सबैजस्तै हुँ। परमेश्‍वरलाई मात्र दण्डवत् गर।”
10तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलाऊ, किनकि अगमवाणी पूरा हुने समय नजिकै छ। 11जसले खराबी गर्छ त्यसले खराबी नै गरिरहोस्; जो अश्लील छ, त्यो अश्लीलै रहोस्; जो ठीक छ त्यसले ठीकै गरिरहोस्; र जो पवित्र छ, त्यो पवित्र नै भइरहोस्।”
उपसंहार: निमन्त्रणा र चेतावनी
12“हेर, म चाँडै आउँदैछु! मेरो इनाम मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु। 13म नै अल्फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्त हुँ।
14“जीवनको रूखको अधिकार पाउन र शहरका ढोकाहरू भित्र पस्‍न पाऊँ भनी आफ्ना वस्त्र शुद्ध#22:14 मूल भाषामा धुनु राख्नेहरू धन्यका हुन्। 15मन्त्रतन्त्र गर्ने कुकुरहरू, अनैतिक यौन सम्बन्धहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झूट मन पराउने र त्यसैअनुसार चल्नेहरू शहरको बाहिरपट्टि हुन्छन्।
16“म येशूले, मण्डलीहरूलाई यो गवाही दिनू भनी मेरो दूतलाई तिमीकहाँ पठाएको छु। म दाविदको मूल र सन्तान, अनि बिहानको चहकिलो तारा हुँ।”
17आत्मा र दुलही भन्‍नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; र जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।
18म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने, परमेश्‍वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ। 19यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने, परमेश्‍वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र शहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ।
20यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्‍नुहुन्छ, “हेर, म चाँडै आउँदैछु।”
आमेन! आउनुहोस्, हे प्रभु येशू।
21प्रभु येशूको अनुग्रह परमेश्‍वरका जनहरूसँग रहोस्। आमेन!

अहिले सेलेक्ट गरिएको:

प्रकाश 22: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्