YouVersion लोगो
खोज आइकन

प्रकाश 2:18-28

प्रकाश 2:18-28 NCV

“थिआटीरामा भएको मण्डलीका दूतलाई लेख: यी परमेश्‍वरका पुत्रका वचनहरू हुन्, जसका आँखा आगोका ज्वालाझैँ, र जसका पाउहरू टल्काइराखेको काँसझैँ छन्। तिम्रा कामहरू, तिम्रो प्रेम र विश्‍वास, तिम्रो सेवा र लगनशीलता; अनि मलाई यो पनि थाहा छ, कि तिमीले पहिलेभन्दा अहिले बढी काम गर्दैछौ। तैपनि तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले त्यस स्त्री ईजेबेललाई सहन्छौ, जसले आफूलाई अगमवादिनी हुँ भनी भन्दछे। आफ्ना शिक्षाहरूद्वारा त्यसले मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएका भोजनहरू खान भनी गलत मार्गतिर डोर्‍याउँछे। मैले त्यसलाई आफ्नो यौन अनैतिकताबाट पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्यसले पश्‍चात्ताप गर्नै चाहिन। यसकारण म त्यसलाई कष्‍टको ओछ्यानमा थला पारिदिनेछु, र त्यससित व्यभिचार गर्नेहरूले त्यसको मार्गदेखि पश्‍चात्ताप गरेनन् भने तिनीहरूलाई महा कष्‍ट दिनेछु। म त्यसका छोराछोरीहरूलाई मृत्युद्वारा नाश पारिदिनेछु। तब सबै मण्डलीहरूले जान्‍नेछन्, कि हृदय र मनको खोजी गर्ने म नै हुँ; अनि मैले नै तिमीहरू हरेकलाई आफ्ना कामअनुसारको प्रतिफल दिनेछु। अब थिआटीरामा भएका बाँकीलाई म भन्दछु, तिमीहरू जसले त्यसको शिक्षा ग्रहण गरेका छैनौ, र शैतानका गहिरा भेदहरू सिकेका छैनौ, ‘म तिमीहरूमाथि अब अरू कुनै भार थप्दिनँ, तिमीहरूसित जे छ, म नआउन्जेल बलियो गरी पक्रिराख। म तिमीहरूलाई योभन्दा अरू दुःख दिन्‍नँ।’ त्यसकारण जसले विजय हासिल गर्दछ, र अन्त्यसम्म मेरो इच्छा पालन गर्दछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु। अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैँ फुटाउनेछ।’ जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई बिहानको तारा पनि दिनेछु।

प्रकाश 2 पढ्नुहोस्