YouVersion लोगो
खोज आइकन

प्रकाश 2:18-28

प्रकाश 2:18-28 NNRV

अनि थिआटीराको मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरको पुत्रले भन्‍दछ, जसका आँखा आगोका ज्‍वालाजस्‍ता, जसका पाउ टल्‍काइराखेको काँसाजस्‍ता छन्‌। तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्‍वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ। तिम्रा पछिल्‍ला काम अघिल्‍लाभन्‍दा बढ़ी छन्‌। तर तिम्रो विरुद्धमा मैले यो भन्‍नु छ: तिमी ईजेबेल भन्‍ने स्‍त्रीलाई सहन गर्छौ। त्‍यसले आफैलाई अगमवादिनी भन्‍छे, र मेरा सेवकहरूलाई व्‍यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे। मैले त्‍यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्‍यसले आफ्‍नो व्‍यभिचारबाट पश्‍चात्ताप गर्न इन्‍कार गरी। हेर, म त्‍यसलाई रोग-शय्‍यामा फालिदिनेछु, र त्‍यससँग व्‍यभिचार गर्नेहरूले त्‍यसले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन्‌ भने म तिनीहरूलाई महासङ्कष्‍टमा फालिदिनेछु। म त्‍यसका छोरा-छोरीहरूलाई मार्नेछु। र सबै मण्‍डलीहरूले थाहा पाउनेछन्, कि म उही हुँ, जसले सबैका मन र हृदयको जाँच गर्दछु, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसार दिनेछु। तर तिमी थिआटीरामा भएको यो शिक्षा नमान्‍ने तथा कतिले भनेझैँ शैतानका गहिरा कुराहरू नसिक्‍ने बाँकी तिमीहरूलाई म भन्‍दछु, म तिमीहरूमाथि अरू कुनै भार राख्‍दिनँ। त्‍यसो भए तापनि जे तिमीहरूसँग छ, म नआउञ्‍जेल त्‍यसलाई थामिराख। जसले जित्‍छ र मेरा कामहरूलाई आखिरसम्‍मै कायम राख्‍छ, त्‍यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु, र फलामको डन्‍डाले माटोका भाँड़ाहरू टुक्रा-टुक्रा पारेर फोरेझैँ त्‍यसले तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु। म त्‍यसलाई बिहानको तारा दिनेछु।