यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ: “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्; किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्। आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पार्ने त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ। अनि परमेश्वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।” अनि तिनीहरू फेरि चिच्याए: “हल्लेलूयाह! त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।” ती चौबीस प्रधानहरू र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्नुहुने परमेश्वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए: “आमेन, हल्लेलूयाह!” तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो: “हे उहाँका सबै सेवकहरू हो, तिमीहरू जो उहाँसित डराउँछौ, अर्थात् साना र ठूलाहरू दुवै, हाम्रा परमेश्वरलाई प्रशंसा गर।” तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: “हल्लेलूयाह! किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्वरले राज्य गर्नुहुन्छ, हामी आनन्द मनाऔँ, खुशी होऔँ, र उहाँलाई महिमा दिऔँ! किनकि थुमाको विवाहको बेला आइपुगेको छ; अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्। तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा पहिरनलाई दिइएको थियो।” मसिनो मलमलको कपडाले सन्तहरूको धार्मिक कार्यलाई जनाउँछ। अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्वरका सत्य वचनहरू हुन्।” अनि म तिनको पाउमा दण्डवत् गर्नलाई घोप्टो परेँ। तर तिनले मलाई भने, “यसो नगर! म येशूको गवाही कायम राख्ने तिमी र तिम्रा दाजुभाइ-दिदीबहिनीहरूझैँ एक जना सङ्गी-सेवक हुँ। परमेश्वरको मात्र आराधना गर! किनकि अगमवाणीका आत्माले नै येशूको गवाही बोकेका छन्।”
प्रकाश 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 19:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू