YouVersion लोगो
खोज आइकन

प्रकाश 19:1-10

प्रकाश 19:1-10 सरल नेपाली

यसपछि स्‍वर्गमा मानिसहरूको ठूलो घुइँचोको आवाज जस्‍तो यसो भनेको मैले सुनें, “परमेश्‍वरको प्रशंसा होस्! उद्धार, सम्‍मान् र अधिकार परमेश्‍वरकै हुन्! उहाँका न्‍याय ठीक-ठीक र सत्‍य छन्। आफ्‍ना व्‍यभिचारले सारा पृथ्‍वीलाई बिगार्ने त्‍यो वेश्‍यालाई उहाँले ठीक सजाय दिनुभएको छ। उहाँले आफ्‍ना सेवकहरूको रगतको बदला त्‍यसैमाथि लिनुभएको छ।” फेरि एक पटक उनीहरूले यसो भनेर कराए, “परमेश्‍वरलाई प्रशंसा होस्, त्‍यो ठूलो सहरलाई ध्‍वंश गर्ने आगोको धुवाँ सधैँ उभोतिर गइरहनेछ।” तब ती चौबीस धर्म-गुरु र ती चार जीवित प्राणीहरूले सिंहासनमा विराजमान् हुनुभएका परमेश्‍वरलाई दण्‍डवत् गरे अनि यसो भनेर उहाँको जयजयकार गरे, “आमेन। परमेश्‍वरको प्रशंसा होस्।” सिंहासनबाट एउटा ठूलो सोरमा यसो भनेको सुनियो, “परमेश्‍वरका सेवक हो, उहाँलाई मान्‍नेहरू, साना-ठूला सबैले उहाँको जयजयकार गर।” यसपछि मानिसको ठूलो घुइँचोको सोर वा पानीको छाँगाको आवाज जस्‍तो र बादलमा गड्‌याङ-गुडुङ‌को गर्जनजस्‍तो आवाजले यसो भनेको मैले सुनें: “परमेश्‍वरको प्रशंसा होस्! हाम्रा प्रभु सर्वशक्तिमान् परमेश्‍वर महाराजा हुनुहुन्‍छ। हामी रमाऔं र खुसी मनाऔं! उहाँको जयजयकार गरौं! किनभने थुमाको विवाहको दिन आइसक्‍यो र उहाँकी दुलही तयार भइसकेकी छिन्! लगाउनका लागि तिनलाई सफा चम्‍कने वस्‍त्र दिइएको छ।” सफा वस्‍त्रचाहिँ परमेश्‍वरका भक्तहरूका असल काम हुन्। यसपछि स्‍वर्गदूतले मलाई यसो भनेर अह्राए, “यो कुरा लेख: थुमाको विवाहको भोजमा बोलाइएका सबै धन्‍य हुन्।” तब स्‍वर्गदूतले फेरि भने, “यी कुरा परमेश्‍वरले भन्‍नुभएका साँचा वचन हुन्।” तब ती स्‍वर्गदूतलाई आदर गर्न म उनको अघि झुकें, तर उनले मलाई भने, “यसो नगर।” मचाहिँ तिमी, तिम्रा भाइहरूसित र येशूको साँचो वचन मान्‍ने सबैसित काम गर्ने परमेश्‍वरको सेवक मात्र हुँ। परमेश्‍वरलाई मात्र पुज।” किनभने प्रभु येशू ख्रीष्‍टले प्रकट गर्नुभएको सत्‍यले नै अगमवक्तालाई प्रेरणा दिन्‍छ।

प्रकाश 19 पढ्नुहोस्