YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:73-96

भजनसंग्रह 119:73-96 NCV

तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका हुन्; तपाईंका आज्ञाहरू सिक्ने समझशक्ति मलाई दिनुहोस्। तपाईंको भय मान्‍नेहरू मलाई देखेर खुशी होऊन्; किनकि मैले मेरो आशा तपाईंको वचनमा राखेको छु। हे याहवेह, म जान्दछु, तपाईंका नियमहरू धार्मिक छन्, र आफ्नो विश्‍वसतामा तपाईंले मलाई ताडना दिनुभएको छ। आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार तपाईंको अचुक प्रेम मेरो सान्त्वना बनोस्! तपाईंको कृपा ममाथि रहोस्, ताकि म जीवित रहन सकूँ; किनकि म तपाईंको व्यवस्थामा नै रमाउँदछु। कारणविना मलाई दोष लगाएका हुनाले अहङ्कारीहरू शर्ममा परून्; तर मचाहिँ तपाईंका विधिहरूमा मनन गर्नेछु। तपाईंको डर मान्‍नेहरू, र तपाईंका कानुन बुझ्नेहरू मतिर फर्कून्। मेरो निर्दोष हृदयले तपाईंका उर्दीहरू पालन गर्न सकूँ, ताकि म शर्ममा नपरूँ! मेरो प्राण तपाईंको मुक्ति प्राप्‍त गर्ने तिर्सनामा व्याकुल छ; तर मैले आफ्नो आशा तपाईंको वचनमा राखेको छु। तपाईंको प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्; म सोध्छु, “तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?” म धुवाँमा राख्दा-राख्दै खुम्चिएको दाखमद्यको मशकझैँ भएँ; तापनि मैले तपाईंका उर्दीहरू बिर्सेको छैनँ। तपाईंको सेवकले कहिलेसम्म पर्खनुपर्छ? मलाई खेदो गर्नेहरूलाई कहिले दण्ड दिनुहुन्छ? तपाईंको व्यवस्थाको विरोध गर्ने अहङ्कारीहरूले मलाई पासोमा पार्न खाडल खनेका छन्। तपाईंका सारा आज्ञाहरू भरोसायोग्यका छन्; मलाई मदत गर्नुहोस्, म कारणविना सताइएको छु। तिनीहरूले झण्डै मलाई पृथ्वीबाट नाश गरे; तर मैले तपाईंका विधिहरू त्यागेको छैनँ। तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्; ताकि म तपाईंको मुखबाट निस्केका कानुनहरू पालन गर्न सकूँ। हे याहवेह, तपाईंको वचन अनन्त छ; यो स्वर्गमा सदैव दृढ रहन्छ। तपाईंको विश्‍वासयोग्यता पुस्तौँ-पुस्तासम्म रहिरहन्छ; तपाईंले नै पृथ्वीलाई स्थापित गर्नुभयो; अनि यो स्थिर रहन्छ। तपाईंका नियमहरू आजको दिनसम्म स्थिर छन्; किनकि सबै सृष्‍टिले तपाईंको सेवा गर्दछन्। तपाईंको व्यवस्थामा मेरो निम्ति आनन्द नहुँदो हो त म आफ्नो पीडामा नष्‍ट भइसकेको हुन्थेँ। तपाईंका विधिहरू म कहिल्यै बिर्सनेछैनँ; किनकि तीद्वारा नै तपाईंले मेरो जीवनको रक्षा गर्नुभएको छ। मलाई बचाउनुहोस्; किनकि म तपाईंकै हुँ; मैले तपाईंका विधिहरूको खोजी गरेको छु। दुष्‍टहरूले मलाई नाश गर्न ढुकेर बसेका छन्; तर मचाहिँ तपाईंका कानुनहरूमा ध्यान दिनेछु। हरेक सिद्धताको पनि सीमा भएको मैले देखेको छु; तर तपाईंका आज्ञाहरू असीमित छन्।

भजनसंग्रह 119 पढ्नुहोस्