YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:145-176

भजनसंग्रह 119:145-176 NCV

हे याहवेह, मेरो सारा हृदयले तपाईंलाई पुकार्छु; मलाई जवाफ दिनुहोस्; र म तपाईंका उर्दीहरू पालन गर्नेछु। म तपाईंलाई पुकार्छु; मलाई बचाउनुहोस्, अनि म तपाईंका कानुनहरू पालन गर्नेछु। म सूर्योदय हुन अगि नै उठेर सहयोगको लागि पुकार्छु; मैले तपाईंको वचनमाथि आशा राखेको छु। तपाईंका प्रतिज्ञाहरूमा मनन गरूँ भनेर मेरा आँखाहरू रातका पहरहरूमा खुल्‍ला रहन्छन्। तपाईंको अचुक प्रेमअनुसार मेरो सोर सुन्‍नुहोस्; हे याहवेह, तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! दुष्‍ट योजना रच्नेहरू मेरो नजिकै छन्; तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढा छन्। हे याहवेह, अझै पनि तपाईं नजिकै हुनुहुन्छ; र तपाईंका सबै आज्ञाहरू सत्य छन्। धेरै अगिदेखि नै मैले तपाईंका कानुनहरूबाट सिकेको छु, कि तपाईंले तिनीहरूलाई सदाकालको निम्ति स्थापित गर्नुभएको छ। मेरो दुःखलाई हेर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्; किनकि मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैनँ। मेरो पक्षमा बोल्नुहोस्, र मलाई उद्धार गर्नुहोस्; तपाईंको प्रतिज्ञाअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! दुष्‍टहरूदेखि मुक्ति टाढा छ; किनकि तिनीहरूले तपाईंका उर्दीहरूको खोजी गर्दैनन्। हे याहवेह, तपाईंको कृपा महान् छन्; तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! मलाई सताउने मेरा वैरीहरू धेरै छन्; तर म तपाईंका कानुनहरूबाट तर्केको छैनँ। विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु; किनकि तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्। हेर्नुहोस्, म कसरी तपाईंका विधिहरूलाई प्रेम गर्दछु; हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्; तपाईंका सबै धार्मिक नियमहरू अनन्तका छन्। शासकहरूले कारणविना मलाई खेदो गर्दछन्; तर मेरो हृदयले तपाईंको वचनको भय मान्दछ। जसरी लुटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, त्यसरी नै म तपाईंको प्रतिज्ञामा रमाउँदछु। म झूटलाई घृणा गर्दछु, र तुच्छ ठान्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईंका धार्मिक नियमहरूको निम्ति दिनमा म सात पटक तपाईंको प्रशंसा गर्दछु। तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका लागि ठूलो शान्ति हुन्छ, अनि कुनै कुराले तिनीहरूलाई ठेस पुर्‍याउँदैन। हे याहवेह, म तपाईंको मुक्तिको प्रतीक्षा गर्दछु, र तपाईंका आज्ञाहरू पालन गर्दछु। म तपाईंका कानुनहरू पालन गर्दछु; किनकि म तिनलाई अत्यन्तै प्रेम गर्दछु। तपाईंका विधिहरू र तपाईंका कानुनहरू म पालन गर्दछु; किनकि मेरा सम्पूर्ण आचरणहरू तपाईं जान्‍नुहुन्छ। हे याहवेह, मेरो पुकार तपाईंको सामु पुगोस्; तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्! मेरो बिन्ती तपाईंको सामु पुगोस्; तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्! मेरा ओठबाट तपाईंको प्रशंसा छचल्किऊन्; किनकि तपाईंले मलाई आफ्ना उर्दीहरू सिकाउनुहुन्छ। मेरो जिब्रोले तपाईंका वचनको गीत गाओस्; किनकि तपाईंका सम्पूर्ण आज्ञाहरू धार्मिक छन्। तपाईंको हात मलाई सहयोग गर्न तत्पर रहोस्; किनकि मैले तपाईंका विधिहरूलाई चुनेको छु। हे याहवेह, म तपाईंको मुक्तिको तिर्सना गर्छु; अनि तपाईंको व्यवस्थाले मलाई हर्षित पार्दछ। म जीवित रहूँ, ताकि तपाईंको प्रशंसा गर्न सकूँ; अनि तपाईंका नियमहरूले मलाई थामून्। हराएको भेडाजस्तै म बरालिएको छु। आफ्नो सेवकको खोजी गर्नुहोस्; किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।

भजनसंग्रह 119 पढ्नुहोस्