YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:145-176

भजनसंग्रह 119:145-176 NNRV

आफ्‍नो पूरा हृदयले म तपाईंलाई पुकार्दछु, हे परमप्रभु, मलाई जवाफ दिनुहोस्‌, र तपाईंका विधिहरू म पालन गर्नेछु। म तपाईंलाई पुकार्दछु, मलाई बचाउनुहोस्‌, अनि तपाईंका कानूनहरू म पालन गर्नेछु। म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु। तपाईंका प्रतिज्ञाहरूमाथि मनन गरूँ भनेर, मेरा आँखा रातका पहरहरूमा खुला रहन्‍छन्‌। तपाईंको करुणाअनुसार मेरो सोर सुनिदिनुहोस्‌, हे परमप्रभु, तपाईंका नियमअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। कुचेष्‍टा रच्‍ने दुष्‍टहरू नजिक आइसकेका छन्‌, तर तिनीहरू तपाईंको व्‍यवस्‍थाबाट टाढ़ा छन्‌। तर हे परमप्रभु, तपाईं नजिकै हुनुहुन्‍छ, र तपाईंका सबै आज्ञाहरू सत्‍य छन्‌। अतीतदेखि नै तपाईंका कानूनहरूबाट मैले सिकें, कि तपाईंले तिनीहरूलाई सदासर्वदा रहून्‌ भनी स्‍थापना गर्नुभयो। मेरो दु:खलाई विचार गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, किनकि तपाईंको व्‍यवस्‍था मैले बिर्सेको छैनँ। मेरो पक्षमा निर्णय दिनुहोस्‌, र मलाई छुटाउनुहोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मेरो प्राणलाई सुरक्षा गर्नुहोस्‌। दुष्‍टहरूबाट उद्धार टाढ़ा छ, किनकि तिनीहरूले तपाईंका विधिहरूको खोजी गर्दैनन्‌। हे परमप्रभु, तपाईंको दया-दृष्‍टि अति महान्‌ छ, तपाईंका नियमहरूअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। मलाई सताउने शत्रुहरू अनेक छन्‌, तापनि तपाईंका कानूनहरूबाट म तर्केको छैनँ। विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु, किनभने तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्‌। हेर्नुहोस्‌, म कसरी तपाईंका आदेशहरूलाई प्रेम गर्दछु, हे परमप्रभु, तपाईंको करुणाअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। तपाईंका सम्‍पूर्ण वचनहरू सत्‍य छन्‌, र तपाईंका सबै धार्मिक नियमहरू अनन्‍तका छन्‌। शासकहरूले अकारण मलाई सताउँछन्‌, तर मेरो हृदयले तपाईंका वचनको भय मान्‍दछ। जसरी लूटको ठूलो धन पाउने व्‍यक्ति रमाउँछ, म तपाईंको प्रतिज्ञामा हर्षित हुन्‍छु। झूटलाई म घृणा गर्छु, र तुच्‍छ ठान्‍छु, तर तपाईंको व्‍यवस्‍थालाई म प्रेम गर्दछु। तपाईंका धार्मिक नियमहरूका निम्‍ति दिनमा सात चोटि म तपाईंको प्रशंसा गर्दछु। तपाईंको व्‍यवस्‍थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्‍ति हुन्‍छ, र तिनीहरूले ठेस खाने कुनै कारण रहँदैन। हे परमप्रभु, तपाईंका उद्धारको म प्रतीक्षा गर्छु, र तपाईंका आज्ञाहरू पालन गर्दछु। तपाईंका कानूनहरू पालन गर्दछु, किनभने म तिनलाई अत्‍यन्‍तै प्रेम गर्दछु। म तपाईंका आदेशहरू र कानूनहरू पालन गर्दछु, किनकि मेरा सबै आचरण तपाईंकै सामु प्रष्‍ट छन्‌। हे परमप्रभु, मेरो पुकारा तपाईंको सामु पुगोस्‌, तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्‌। मेरो नम्र-निवेदन तपाईंको सामुन्‍ने पुगोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्‌। मेरा ओठ तपाईंको प्रशंसाले भरपूर होऊन्‌, किनकि तपाईंले आफ्‍ना विधिहरू मलाई सिकाउनुहुन्‍छ। मेरो जिब्रोले तपाईंका वचनको भजन गाओस्‌, किनकि तपाईंका सबै आज्ञाहरू धर्ममय छन्‌। तपाईंको बाहुली मलाई मदत गर्न तत्‍पर रहोस्‌, किनकि तपाईंका आदेशहरूलाई मैले चुनेको छु। हे परमप्रभु, म तपाईंका उद्धारको तृष्‍णा राख्‍छु, र तपाईंको व्‍यवस्‍था मेरो खुशीयाली हो। म जीवित रहूँ, र तपाईंको प्रशंसा गर्न सकूँ, र तपाईंका नियमहरूले मलाई थामून्‌। हराएको भेड़ाजस्‍तो म बरालिएको छु, आफ्‍नो दासलाई खोज्‍नुहोस्‌, किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।