जे धार्मिक र न्यायपूर्ण छ, मैले त्यही गरेको छु; मलाई अत्याचार गर्नेहरूका हातमा नछोडिदिनुहोस्! तपाईंको सेवकको भलाइ सुनिश्चित गरिदिनुहोस्; अहङ्कारीहरूले मलाई अत्याचार गर्न नपाऊन्! तपाईंको मुक्ति र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्। आफ्नो अचुक प्रेमअनुसार आफ्ना सेवकसँग व्यवहार गर्नुहोस्, अनि मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! म तपाईंको सेवक हुँ; मलाई अन्तर्दृष्टि दिनुहोस्, ताकि म तपाईंका कानुनहरू बुझ्न सकूँ! हे याहवेह, अब तपाईंले काम गर्ने समय आएको छ; तपाईंको व्यवस्था भङ्ग भएको छ। किनकि मैले तपाईंका आज्ञाहरूलाई सुन, र निखुर सुनभन्दा पनि बढी प्रेम गर्दछु, किनकि म तपाईंका सम्पूर्ण विधिहरू उचित ठान्दछु; अनि हरेक खराब मार्गलाई म घृणा गर्दछु। तपाईंका कानुनहरू अद्भुत छन्; त्यसैले तिनलाई म पालन गर्छु। तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ; त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ। म तपाईंका आज्ञाहरूका तिर्सनाले आफ्नो मुख खोल्छु, र सुस्केरा हाल्दछु। तपाईंको नामलाई प्रेम गर्नेहरूलाई तपाईंले सदा गरेझैँ, मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्! तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्याउनुहोस्; र कुनै पापले ममाथि राज्य नगरोस्! मानिसका अत्याचारबाट मलाई मोल तिरेर छुटाउनुहोस्, ताकि म तपाईंका विधिहरू पालन गर्न सकूँ। तपाईंको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्; र तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्! मेरा आँखाहरूबाट आँसुका धारा बग्छन्; किनकि तपाईंको व्यवस्था पालन गरिएको छैन। हे याहवेह, तपाईं धर्मी हुनुहुन्छ, अनि तपाईंका नियमहरू सही छन्। तपाईंले स्थापित गर्नुभएका कानुनहरू धार्मिक छन्; तिनीहरू पूर्ण रूपले भरपर्दा छन्। मेरो जोशले मलाई खाइसकेको छ; किनकि मेरा शत्रुहरूले तपाईंका वचनहरू वास्ता गर्दैनन्। तपाईंका प्रतिज्ञाहरू सम्पूर्ण रूपले जाँच गरिएका छन्; र तपाईंको सेवकले तिनलाई प्रेम गर्दछ। म क्षुद्र र तुच्छ छु; तापनि म तपाईंका विधिहरू बिर्संदिनँ। तपाईंको धार्मिकता अनन्तकाल छ; अनि तपाईंको व्यवस्था सत्य छ। ममाथि दुःख र कष्ट आइलागेका छन्; तर तपाईंका आज्ञाहरूले मलाई हर्षित बनाउँछन्। तपाईंका कानुनहरू सदा धार्मिक छन्; मलाई समझशक्ति दिनुहोस्, ताकि म जीवित रहन सकूँ।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:121-144
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू