YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:121-144

भजनसंग्रह 119:121-144 सरल नेपाली

मैले असल र ठीक कुराहरू गरेको छु, मलाई मेरा शत्रुहरूका हातमा नछोडिदिनुहोस्। आफ्‍नो दासलाई सहायता गर्दछु भनी प्रतिज्ञा गर्नुहोस्, अहङ्कारी मानिसहरूले मलाई सताउन नपाऊन्। तपाईंले मलाई बचाउन मद्दत र प्रतिज्ञा गर्नुभएको उद्धारको बाटो हेर्दाहेर्दा मेरा आँखा थाकिसके। आफ्‍नो अनन्‍त प्रेमअनुसार मसँग व्‍यवहार गर्नुहोस् र मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्। म तपाईंको दास हुँ, मलाई समझशक्ति दिनुहोस् र मलाई तपाईंका शिक्षाहरूको ज्ञान हुनेछ। हे परमप्रभु! अब तपाईंले काम गर्नुपर्ने समय आएको छ किनभने मानिसहरूले तपाईंको नियम मान्‍न छोडेका छन्। म तपाईंका आज्ञाहरूलाई सुन, अँ, सबैभन्दा राम्रो सुनभन्दा पनि धेरै प्रेम गर्दछु। यसैकारण म तपाईंका सबै अर्तीहरू मान्‍दछु र सबै दुष्‍ट चालहरू घृणा गर्दछु। तपाईंका शिक्षाहरू उदेकका छन्, म ती सबै आफ्‍नो हृदयबाट मान्‍छु। तपाईंका शिक्षाहरूको अर्थ खोलिंदा हामीले ज्‍योति पाउँछौं र अज्ञानीहरूले बुद्धि पाउँछन्। तपाईंका आज्ञाहरू मान्‍ने इच्‍छा राखेकाले गर्दा म आफ्‍नो मुख खोल्‍दछु र तिर्सना गर्दछु। जसरी तपाईंसँग प्रेम गर्नेहरूतिर तपाईं फर्कनुहुन्‍छ र कृपा गर्नुहुन्‍छ, त्‍यसरी नै मसँग गर्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएकोअनुसार मलाई लोट्‍नुदेखि बचाउनुहोस्, मलाई खराबीले नजितोस्। मलाई सताउनेहरूदेखि मलाई बचाउनुहोस्, म तपाईंका आज्ञाहरू मान्‍न सकूँ। तपाईंको उपस्‍थितिले मलाई आशिष् दिनुहोस् र तपाईंका व्‍यवस्‍थाहरूको शिक्षा मलाई दिनुहोस्। मेरा आँसु नदीझैँ बग्‍दछ, किनभने मानिसहरूले तपाईंको व्‍यवस्‍था मान्‍दैनन्। परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तपाईंका व्‍यवस्‍थाहरू न्‍यायपूर्ण छन्। तपाईंले दिनुभएका व्‍यवस्‍थाहरू सबै प्रकारले ठीक र धार्मिक छन्। मेरो रिस मभित्र आगोजस्‍तै जल्‍दछ किनभने मेरा शत्रुहरूले तपाईंका आज्ञाहरू मान्‍दैनन्। तपाईंको प्रतिज्ञा कति पक्‍का छ, म त्‍यसलाई कति प्रेम गर्दछु! म तुच्‍छ छु र हेलित छु। तर म तपाईंका शिक्षाहरूलाई हेला गर्दिनँ। तपाईंको धार्मिकता सदाकाल रहनेछ र तपाईंको व्‍यवस्‍था सधैँ सत्‍य छ। म कष्‍ट र चिन्‍ताले भरिएको छु, तर तपाईंका आज्ञाले मलाई रमाहट दिँदछ। तपाईंका अर्तीहरू सधैँ न्‍यायपूर्ण छन्, मलाई समझशक्ति दिनुहोस् र म जीवित रहनेछु।

भजनसंग्रह 119 पढ्नुहोस्