YouVersion लोगो
खोज आइकन

हितोपदेश 17

17
1शान्ति र मौनसित निस्तो गाँस खानु
कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।
2विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ,
र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ।
3चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ,
तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ।
4दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ;
झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ।
5गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ;
अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन।
6नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्,
र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।
7भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने,
शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ!
8घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो;
उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ।
9अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ;
तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।
10मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त
बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ।
11खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ;
त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ।
12मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त
बरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो।
13यदि मानिसले भलाइको साटो खराबी गर्छ भने,
त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन।
14झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो;
यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।
15दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने—
यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ।
16मूर्खको हातमा रकम के काम लाग्ला र?
किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन।
17मित्रले सबै समय प्रेम गर्छ,
र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।
18विवेकहीन मानिसले भाकल गर्छ,
र आफ्नो छिमेकीको जमानी बस्छ।
19झगडा रुचाउनेले पाप रुचाउँछ,
र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ।
20भ्रष्‍ट हृदय भएको मानिसको उन्‍नति हुँदैन;
जसको जिब्रो छली छ, त्यो सङ्कष्‍टमा पर्छ।
21मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्,
मूर्खको बुबालाई खुशी मिल्दैन।
22प्रसन्‍न हृदय असल औषधी हो,
तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
23दुष्‍ट मानिसले गुप्‍तमा घूस लिन्छ
र न्याय प्राणाली बिगारिदिन्छ।
24विवेकी मानिसले आफ्नो दृष्‍टिमा बुद्धि राख्छ,
तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।
25मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्,
र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्।
26निर्दोष मानिसलाई दण्ड दिनु,
वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन।
27समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ,
र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ।
28चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ,
र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।

अहिले सेलेक्ट गरिएको:

हितोपदेश 17: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्