हितोपदेश 16
16
1हृदयका योजनाहरू मानिसका हुन्;
तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।
2हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ;
तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्।
3तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ,
र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
4याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ;
उहाँले दुष्टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ।
5हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ;
यो निश्चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्।
6प्रेम र सत्यताद्वारा पापको प्रायश्चित हुन्छ;
याहवेहप्रतिको श्रद्धाद्वारा मानिस खराबीदेखि अलग रहन्छ।
7जब कुनै मानिसको जीवन याहवेहको दृष्टिमा मनपर्दो हुन्छ,
उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ।
8बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा,
धार्मिकताको साथमा थोरै भएको असल हुन्छ।
9मानिसले हृदयमा आफ्नो योजना बनाउँछ;
तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ।
10राजाको ओठले ईश्वरवाणी बोल्दछ;
र तिनको मुखले न्यायलाई चोट पुर्याउनुहुँदैन।
11ठिक तराजु र तौल याहवेहकै हुन्,
थैलोभित्रका सबै ढकहरू उहाँद्वारा नै बनिएका हुन्।
12राजाहरूले कुकर्मलाई घृणा गर्दछन्,
किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।
13राजाहरूले इमानदार ओठलाई मन पराउँछन्;
सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्।
14राजाको क्रोध मृत्युको दूत हो,
तर बुद्धिमान् मानिसले त्यसलाई शान्त गराउँछ।
15जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ;
अनि तिनको निगाह बसन्त ऋतुका झरीको बादलजस्तै हो।
16सुनभन्दा बुद्धि प्राप्त गर्नु,
र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो!
17धर्मीको राजमार्ग खराबीदेखि अलग रहन्छ;
आफ्नो चालको रक्षा गर्नेहरूले आफ्नो जीवनको रक्षा गर्छन्।
18विनाशको अगि अहङ्कार आउँछ,
र पतनको अगि घमण्डी आत्मा आउँछ।
19अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा
आत्मामा नम्र भई थिचोमिचोमा परेकाहरूका बीचमा रहनु असल हो।
20जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्नति हुन्छ,
धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ।
21हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्,
र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्।
22समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो,
तर मूर्खताले मूर्खहरूमाथि दण्ड ल्याउँछ।
23बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ,
र त्यसका ओठले अर्तीलाई बढाउँछ।
24मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्,
जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।
25कुनै बाटो मानिसलाई ठिक लाग्ला,
तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
26परिश्रमीको पेटले त्यसलाई काम गर्न लगाउँछ;
त्यसको भोकले त्यसलाई काम गर्न लगाउँछ।
27बदमासले दुष्ट युक्ति रच्दछ;
र त्यसका बोलीवचन भतभती पोल्ने आगोजस्तै हुन्छ।
28भ्रष्ट मानिसले विवाद उत्पन्न गराउँछ,
र कुराउटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
29उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ,
र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ।
30आफ्नो आँखा झिम्काउनेले षड्यन्त्र रचेको हुन्छ;
आफ्ना ओठ लेब्र्याउनेले षड्यन्त्र रचेको हुन्छ।
31फूलेको केश शोभाको मुकुट हो,
यो धर्मी जीवनबाट प्राप्त हुँदछ।
32धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो,
आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।
33चिट्ठा त हालिन्छ,
तर त्यसको हरेक निर्णय याहवेहबाट नै हुन्छ।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 16: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.