स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइ पनि हेर। तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मानसिकता होस्: उहाँ स्वभावमा परमेश्वर भएर पनि, परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन, तर आफैलाई रित्त्याईकन, एउटा सेवकको रूप लिई, मानिसको प्रतिरूपमा बनिनुभयो। अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैलाई नम्र तुल्याउनुभयो र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो र उहाँलाई एउटा नाउँ दिनुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका, हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, अनि परमेश्वर पिताको महिमाको निम्ति, हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। यसैले मेरा प्रिय मित्रहरूहो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैं पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु, यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर। किनकि तिमीहरूमा काम गर्ने परमेश्वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ। सबै काम गनगन अथवा वाद-विवाद नगरी गर, ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान बन्न सक।” तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैं चम्कनेछौ। यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिन अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको पुनरागमनमा म गर्व गर्न सकूँ।
फिलिप्पी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलिप्पी 2:3-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू