फिलिप्पी 2
2
ख्रीष्टको नम्रताको अनुकरण
1यसकारण यदि ख्रीष्टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्नेह र सहानुभूति छ भने, 2तब एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर। 3स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। 4तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइ पनि हेर।
5तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मानसिकता होस्:
6उहाँ स्वभावमा परमेश्वर भएर पनि#2:6 अथवा परमेश्वरको स्वरूपमा,
परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन,
7तर आफैलाई रित्त्याईकन,
एउटा सेवकको रूप लिई,
मानिसको प्रतिरूपमा बनिनुभयो।
8अनि स्वरूपमा मानिसजस्तै भएर,
उहाँले आफैलाई नम्र तुल्याउनुभयो
र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै
आज्ञाकारी हुनुभयो।
9त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो
र उहाँलाई एउटा नाउँ दिनुभयो, जो हरेक नाउँभन्दा उच्च छ,
10कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका,
हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ,
11अनि परमेश्वर पिताको महिमाको निम्ति,
हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।
ताराझैं चम्कनु
12यसैले मेरा प्रिय मित्रहरूहो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैं पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु, यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर। 13किनकि तिमीहरूमा काम गर्ने परमेश्वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ।
14सबै काम गनगन अथवा वाद-विवाद नगरी गर, 15ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान बन्न सक।”#2:15 व्यव 32:5 तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैं चम्कनेछौ। 16यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिन अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको पुनरागमनमा म गर्व गर्न सकूँ। 17तर यदि तिमीहरूको विश्वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु। 18त्यसै गरी तिमीहरू पनि मसँगसँगै खुशी र आनन्दित हुनुपर्छ।
तिमोथी र इपाफ्रोडिटस
19म प्रभु येशूमा आशा गर्दछु, कि तिमोथीलाई चाँडै नै तिमीहरूकहाँ पठाउन सकूँ, ताकि म तिमीहरूको बारेमा खबर पाएर प्रसन्न हुन सकूँ। 20तिनी जस्तो अर्को मानिस मसित छैन, जसले तिमीहरूको भलाइको निम्ति साँच्चै वास्ता गर्छ। 21किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्टको इच्छा खोज्दैनन्। 22तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ, किनकि एउटा छोराले बुबासँगै काम गरेझैं, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे। 23यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु। 24अनि म प्रभुमा निश्चित छु, कि म आफै पनि चाँडै आउनेछु।
25तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचाहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, फेरि तिमीहरूकहाँ फर्काएर पठाउन मैले आवश्यक ठानेको छु। 26किनकि तिनले तिमीहरू सबैको तृष्णा गर्दछन् र तिनी बिरामी छन् भनी तिमीहरूले सुनेका हुनाले तिनी दुःखित भएका छन्। 27वास्तवमा तिनी बिरामी थिए, र झण्डै मरेका थिए। तर परमेश्वरले तिनीमाथि दया गर्नुभयो, तिनीमाथि मात्रै होइन, तर ममाथि पनि दया गर्नुभयो; ताकि ममाथि शोकमाथि अझै शोक नथपियोस्। 28यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्। 29यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर, 30किनकि तिनी ख्रीष्टको कामको निम्ति झण्डै मृत्युमा पुगे। तिनले तिमीहरू आफैले मेरो निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले।
अहिले सेलेक्ट गरिएको:
फिलिप्पी 2: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.