YouVersion लोगो
खोज आइकन

फिलिप्पी 3

3
शरीरमा भरोसा नगर्नू
1चाहे जेसुकै होस्, मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, प्रभुमा आनन्द गर। तिमीहरूलाई फेरि पनि त्यही कुराहरू नै लेख्न मलाई झर्को लाग्दैन, अनि यो ता तिमीहरूका सुरक्षाको निम्ति हो। 2कुकुरहरूजस्तै व्यवहार गर्नेहरू, खराब काम गर्नेहरू, खतना गर्नैपर्छ भन्‍नेहरूदेखि होसियार बस। 3किनकि हामी खतना भएकाहरू हौं, जसले परमेश्‍वरका आत्माद्वारा उहाँको सेवा गर्दछौं; हामी ख्रीष्‍ट येशूमा गर्व गर्दछौं र जसले मानवीय परिश्रमहरूमा कुनै भरोसा राख्दैनौं। 4यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्।
यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्: 5आठौं दिनमा खतना भएको, इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी हुँ; 6जोशको विषयमा हो भने मण्डलीलाई सताउने; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित थिएँ।
7तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्‍टको निम्ति म व्यर्थको ठान्दछु। 8हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु, त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ। 9उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ। 10म ख्रीष्‍टलाई जान्‍न चाहन्छु, अनि उहाँको पुनर्जीवनको शक्‍तिलाई, उहाँको कष्‍ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु, 11अनि जसरी भए पनि मरेकाहरूबाट पुनर्जीवित हुन सकूँ।
12मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ, तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु। 13दाजुभाइ-दिदीबहिनीहरूहो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: बितेका कुरालाई बिर्सेर, अगाडिका कुरातिर अघि बढ्ने प्रयत्‍न गर्दैछु, 14म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्‍त गर्ने लक्ष्यतर्फ अघि बढ्दैछु, जसको निम्ति परमेश्‍वरले ख्रीष्‍ट येशूमा मलाई बोलाउनुभएको छ।
पावलको अनुकरण गर्नु
15यसकारण हामी सबै जतिजना परिपक्व छौं, यस्तै कुराहरूको विचार गरौं; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्‍वरले तिमीहरूलाई स्पष्‍ट पारिदिनुहुनेछ। 16हामीले जे-जति प्राप्‍त गरिसकेका छौं, हामी त्यसैमा जिऔं।
17दाजुभाइ-दिदीबहिनीहरूहो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक। 18किनकि मैले तिमीहरूलाई पहिले घरी-घरी भनेझैं, अहिले फेरि पनि आँसुको साथ भन्दछु, कि धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रुहरूजस्तै गरी जिउँछन्। 19तिनीहरूका अन्त्य विनाश हो, तिनीहरूका पेट नै तिनीहरूका ईश्‍वर हो, र तिनीहरूका गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूका मन सांसारिक कुराहरूमा लागेको छ। 20तर हाम्रो नागरिकता स्वर्गमा छ, अनि हामीले स्वर्गबाट आउनुहुने मुक्‍तिदाता अर्थात् प्रभु येशू ख्रीष्‍टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौं। 21उहाँले जुन शक्‍तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्‍तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि तिनीहरूका शरीर उहाँको जस्तै महिमित शरीर हुनेछ।

अहिले सेलेक्ट गरिएको:

फिलिप्पी 3: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्