YouVersion लोगो
खोज आइकन

गन्ती 16:36-50

गन्ती 16:36-50 NCV

याहवेहले मोशालाई भन्‍नुभयो, “पुजारी हारूनको छोरो एलाजारलाई जलिरहेको अवशेषबाट धुपौराहरूलाई निकालेर त्यसमा भएको खरानीलाई केही पर लगेर छर्कनू भन्। किनकि ती धुपौराहरू पवित्र छन्। आफ्ना प्राणको साटोमा पाप गर्ने ती मानिसहरूका धुपौराहरू हुन्। ती धुपौराहरूलाई घनले पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाउनू। किनकि तिनीहरू याहवेहको सामु ल्याइएका हुनाले ती पवित्र भएका छन्। ती इस्राएलीहरूका निम्ति एउटा चिन्ह होऊन्।” यसकारण पुजारी एलाजारले ती आगोले भस्म हुनेहरूले ल्याएका काँसोका धुपौराहरू बटुले। अनि वेदीलाई मोहोर्नलाई पिटेर पातलो पाताहरू बनाए। याहवेहले मोशाद्वारा एलाजारलाई आज्ञा गर्नुभएअनुसार गरे। योचाहिँ इस्राएलीहरूलाई याद गराउनका निम्ति थियो। हारूनका सन्तानहरूबाहेक अरू कोही पनि याहवेहको सामु धूप बाल्न नआओस्; नत्रता त्यो कोरह र त्यसलाई पछ्याउनेहरूजस्तै हुनेछ। भोलिपल्ट इस्राएलका सारा समुदाय मोशा र हारूनको विरुद्धमा गनगन गर्दै तिनीहरूले भने, “तिमीहरूले याहवेहका मानिसहरूलाई मार्‍यौ।” तर जब समुदाय मोशा र हारूनको विरुद्धमा भेला भए; अनि भेट हुने पालतिर फर्के, तब अचानक त्यसलाई बादलले ढाक्यो। अनि याहवेहको महिमा देखा पर्‍यो। तब मोशा र हारून भेट हुने पालको सामु गए। अनि याहवेहले मोशालाई भन्‍नुभयो, “तिमीहरू यस समुदायबाट अलग भइहाल, ताकि म एकैचोटिमा यिनीहरूको अन्त्य गर्न सकूँ।” अनि तिनीहरू भुइँमा घोप्टो परे। त्यसपछि मोशाले हारूनलाई भने, “आफ्नो धुपौरो लिएर त्यसमा धूप बाल्नुहोस्। साथै वेदीबाट बलिरहेको कोइला लिएर समुदायका निम्ति प्रायश्‍चित गर्नलाई झट्टै तिनीहरूकहाँ जानुहोस्। याहवेहको क्रोध खनिएको छ; विपत्ति सुरु भइसकेको छ।” यसकारण मोशाले भनेअनुसार हारूनले गरे। अनि दगुरेर समुदायको बीचमा गए। मानिसहरूका बीचमा अगि नै विपत्ति सुरु भइसकेको थियो। तर हारूनले धूप चढाएर तिनीहरूका निम्ति प्रायश्‍चित गरे। हारून जीवित र मरिसकेकाहरूका बीचमा खडा भए; तब विपत्ति थामियो। तर त्यहाँ कोरहको कारण मारिएकाहरूबाहेक 14,700 व्यक्तिहरू पनि यस विपत्तिमा मरेका थिए। त्यसपछि हारून भेट हुने पालको प्रवेशद्वारमा मोशाकहाँ फर्केर गए; किनकि विपत्ति थामिसकेको थियो।

गन्ती 16 पढ्नुहोस्