परमप्रभुले मोशालाई भन्नुभयो, “हारून पूजाहारीको छोरा एलाजारलाई जलिरहेको ज्वालाबाट धुपौराहरू निकाल्न र फिलिङ्गा निकै टाढ़ा लगेर छरिदिनलाई अह्रा। किनभने ती धुपौराहरू पवित्र छन्— ती आफ्नै प्राणको हानि गरुञ्जेल पाप गर्नेहरूका धुपौराहरू। ती धुपौराहरूबाट वेदी मोहोर्ने पाताहरू पिटेर बनाउनू, किनभने ती परमप्रभुको सामु चढ़ाएका हुनाले पवित्र छन्। ती पाताहरूचाहिँ इस्राएलीहरूका निम्ति चिन्ह होऊन्।” तब एलाजार पूजाहारीले ती भस्म हुनेहरूले चढ़ाएका काँसाका धुपौराहरू लिए, र पिटेर वेदी मोहोर्ने पाता बनाए, जस्तो परमप्रभुले एलाजारलाई मोशाद्वारा भन्नुभएको थियो। हारूनका सन्तानबाहेक कोही अन्य मानिस धूप बाल्न नजिक नआओस् भनी होशियार गराउन इस्राएलीहरूलाई यो सब भएको थियो, नत्रता त्यो पनि कोरह र उनको दलजस्तै हुनेछ। भोलिपल्ट इस्राएलीहरूका जम्मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमप्रभुका मानिसहरूलाई मार्नुभएको हो।” तर जब समुदायले मोशा र हारूनका विरुद्धमा भेला भई भेट हुने पालतिर हेरे, तब अचानक बादलले त्यसलाई ढाक्यो, र परमप्रभुको महिमा देखा पर्यो। मोशा र हारून भेट हुने पालको अगि गए, अनि परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीहरूचाहिँ यस समुदायबाट पर हटिजाओ, र म यिनीहरूलाई पलभरमा भस्म पार्नेछु।” तब तिनीहरू घोप्टो परे। अनि मोशाले हारूनलाई भने, “तपाईंको धुपौरो लिनुहोस्, र त्यसमा वेदीबाट आगो राखेर धूप हाल्नुहोस्, र तुरुन्तै त्यस समुदायकहाँ लगेर तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्, किनकि परमप्रभुको क्रोध दन्किसकेको छ— विपत्ति सुरु भएको छ।” तब मोशाले भनेझैँ हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्ति प्रायश्चित गरे। तिनी मरेका र जिउँदाहरूका बीचमा खड़ा भए, र विपत्ति थामियो। कोरहको घटनामा मरेकाबाहेक त्यस बेला विपत्तिले मरेकाहरू चौध हजार सात सय थिए। विपत्ति थामिएपछि हारून भेट हुने पालमा मोशाकहाँ फर्के।
गन्ती 16 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 16:36-50
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू