YouVersion लोगो
खोज आइकन

गन्‍ती 16:36-50

गन्‍ती 16:36-50 सरल नेपाली

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारून पूजाहारीको छोरो एलाजारलाई बलिरहेको आगोबाट काँसाका धुपौराहरू निकाल्‍न र फिलिङ्गा निकै टाढा लगेर छरिदिनलाई अह्रा किनभने ती धुपौराहरू पवित्र छन्। परमप्रभुको वेदीमा चढाउँदा ती धुपौराहरू पवित्र भए। यसकारण ती आफ्‍ना पापका कारणले मारिएका मानिसहरूका धुपौराहरू लिएर तिनीहरूलाई पिटी पातला पाताहरू बनाऊ र तिनले वेदीलाई छोपी मोहोर्ने पाता बनाऊ। यो इस्राएलीहरूका निम्‍ति एउटा चेतावनी हुनेछ।” यसकारण पूजाहारी एलाजारले आगोका धुपौराहरू बटुले र तिनलाई पिटेर वेदीलाई मोहोर्ने पातला पाताहरू बनाए। यो इस्राएलीहरूको निम्‍ति एउटा चेतावनी थियो, जो हारूनको सन्‍तान होइन, त्‍यो वेदीमा परमप्रभुलाई धूप बाल्‍न नआओस्। होइन भने त्‍यो कोरह र त्‍यसका पछि लाग्‍ने मानिसहरूझैँ नाश हुनेछ। यी सबै परमप्रभुले मोशाद्वारा एलाजारलाई दिनुभएको आज्ञाअनुसार गरिएका थिए। भोलिपल्‍ट सारा जन-समुदायले मोशा र हारूनलाई दोष दिदै भने, “तिमीहरूले परमप्रभुका जनहरूलाई मारेका छौ।” मोशा र हारूनको विरोध गर्न तिनीहरू सबै भेला भएपछि तिनीहरू पवित्र पालतर्फ फर्के। तिनीहरूले त्‍यसलाई बादलले छोपेको र त्‍यहाँ परमप्रभुको उपस्‍थितिको तिरीमिरी पार्ने ज्‍योति चम्‍केको देखे। मोशा र हारून गएर पवित्र पालको सामुन्‍ने उभिए अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूबाट पछि हट् र म तिनीहरू उभिएकै ठाउँमा तिनीहरूलाई नाश पार्नेछु!” ती दुई भूइँमा घोप्‍टो परे र मोशाले हारूनलाई भने, “तिम्रो आगोको धुपौरोमा बल्‍दो आगो वेदीबाट लिएर त्‍यसमाथि केही धूप हाल। तब त्‍यसलाई लिएर मानिसहरूकहाँ छिटो-छिटो जाऊ र तिनीहरूका निम्‍ति शुद्धीकरणको विधि पूरा गर। चाँडो गर! परमप्रभुको रिस खनिएको छ र विपत्ति सुरु भइसकेको छ।” हारूनले त्‍यो कुरा माने, आफ्‍नो आगोको धुपौरो लिएर हारून मानिसहरूका बीचमा दगुरेर गए। विपत्ति सुरु भइसकेको देखेर तिनले धूप आगोमा हाले र मानिसहरूको निम्‍ति शुद्धीकरणको विधि पूरा गरे। त्‍यसले गर्दा विपत्ति रोकियो र हारून जिउँदा र मरेकाहरूका बीचमा खडा रहे। त्‍यहाँ मर्नेहरूको सङ्‍ख्‍या कोरहका विद्रोहमा मारिएकाहरूको गन्‍तीबाहेक चौध हजार सात सय थियो। विपत्ति रोकिएपछि हारून मोशाकहाँ पवित्र पालको ढोकामा फर्की आए।

गन्‍ती 16 पढ्नुहोस्