छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र यूहन्नालाई लिनुभयो; अनि तिनीहरूलाई एउटा अग्लो पहाडमा लैजानुभयो, जहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो। उहाँको वस्त्र चहकिलो सेतो भयो; अर्थात् संसारमा कसैले धोएर सेतो बनाउनै नसक्ने गरी सेतो भयो। अनि त्यहाँ तिनीहरूका सामु एलिया र मोशा देखा परे; उनीहरू येशूसित कुरा गरिरहेका थिए।
पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” तिनीहरू यति साह्रो डराएका थिए कि, के भन्ने हो, सो तिनले जानेनन्।
तब बाक्लो बादल आएर तिनीहरूलाई ढाकिदियो; अनि बादलबाट यसो भन्ने एउटा आवाज आयो: “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनको कुरा सुन!”
झट्टै जब तिनीहरूले चारैतिर हेरे, तब तिनीहरूले आफूसित येशूबाहेक अरू कसैलाई पनि देखेनन्।
उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, तब येशूले तिनीहरूलाई तिनीहरूले देखेका कुराहरू, मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो। तिनीहरूले “मरेकाबाट जीवित हुनु” भनेको के हो भन्ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे।
अनि तिनीहरूले उहाँलाई सोधे, “किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”
येशूले जवाफ दिनुभयो, “अवश्य एलिया पहिला आउनेछन्; र सबै कुरा पुनर्स्थापना गर्नेछन्। त्यसो भए किन मानिसको पुत्रले धेरै कष्ट भोग्नुपर्छ र तिरस्कृत हुनुपर्छ भनी लेखिएको? तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र जसरी तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”
जब उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आउनुभयो, तब उहाँहरूले तिनीहरूका चारैतिर एउटा ठूलो भीडसित व्यवस्थाका शिक्षकहरूले बहस गरिरहेका देख्नुभयो। सबै मानिसहरूले जब येशूलाई देखे, तिनीहरू आश्चर्यचकित भए, र उहाँलाई अभिवादन गर्न दगुरे।
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू यिनीहरूसित कुन विषयमा बहस गर्दैछौ?”
तब भीडबाट एक जना मानिसले जवाफ दियो, “हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ। जब त्यसले उसलाई पक्रन्छ, उसलाई भुइँमा पछारिहाल्छ; उसले मुखबाट फिँज काढ्छ, दाह्रा किट्छ र अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई यस आत्मालाई धपाइदिनुहोस् भनी बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”
येशूले जवाफ दिनुभयो, “ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? त्यस केटोलाई मकहाँ ल्याओ।”
यसकारण तिनीहरूले त्यसलाई ल्याए। जब त्यस आत्माले येशूलाई देख्यो, तब त्यसले तुरुन्तै त्यस केटोलाई लछारपछार पार्यो। त्यो भुइँमा लडीबुडी गर्न थाल्यो; अनि मुखबाट फिँज काढ्न थाल्यो।
येशूले केटाको बुबालाई सोध्नुभयो, “यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?”
तिनले जवाफ दिए, “सानैदेखि। त्यसले यसलाई मार्न घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गरिदिनुहोस्।”
येशूले भन्नुभयो, “यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्नुको अर्थ के हो? विश्वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।”
तुरुन्तै त्यस केटाको बुबाले भने, “म विश्वास गर्दछु; मेरो अविश्वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!”