छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बद्लियो। येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन। जब तिनीहरूले हेरिरहेका थिए दुइजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशूसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए।
पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।” के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफैं र अरू दुइजना चेलाहरू डराएका थिए।
त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”
अचानक जव पत्रुस, याकूब र यूहन्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येशू मात्र उनीहरूसित थिए।
येशू अनि चेलाहरू डाँडाबाट ओर्लंदै हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नु। मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म पर्ख। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौ ती मानिसहरूलाई भन्न सक्छौ।”
तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरीनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए। तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?”
येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन् अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछन्। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन् तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा ऊमाथि यस्तै घट्नाहरू हुनेछ भनेर लेखिएको छ।”
त्यसपछि येशू, पत्रुस, याकूब अनि यूहन्ना अरू चेलाहरूसित सामिल भए। उनीहरूले धेरै मानिसहरू आफ्ना वरिपरि देखे। चेलाहरूसँग शास्त्रीहरूको बहस चलिरहेको थियो। जब मानिसहरूले येशूलाई देखे, तिनीहरू अत्यन्त छक्क परे। उहाँको स्वागत गर्न तिनीहरू दौडिए।
येशूले प्रश्न गर्नुभयो, “शास्त्रीहरूसँग तिमीहरू के को बारेमा बहस गरिरहेका थियौ?”
भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ। त्यो दुष्टात्माले मेरो छोरोलाई आक्रमण गर्छ अनि भूईँमा बजार्छ। मेरो छोरोले मुखबाट फींज निकाल्छ, दाह्र किट्छ, अनि कडा हुन्छ। मैले तपाईंको चेलाहरूलाई मेरो छोराबाट त्यस दुष्टात्मालाई हटाइ दिउन् भनी बिन्ती गरें, तर तिनीहरूले सकेनन्।”
येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसँग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”
त्यसपछि चेलाहरूले त्यो ठिटोलाई येशू कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यसैबेला त्यसले ठीटोलाई आक्रमण गर्यो। ठिटो भूईंमा लड्यो अनि छट्पटाउन लाग्यो। त्यसले मुखबाट फीँजहरू निकालिरहेको थियो।
येशूले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?”
बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै। दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मद्दत गर्नुहोस्।”
येशूले ठिटोको बाबूलाई भन्नुभयो, “तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ।”
त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मद्दत गर्नुहोस्।”