YouVersion लोगो
खोज आइकन

मर्कूस 6:45-52

मर्कूस 6:45-52 NCV

तुरुन्तै येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढाएर उहाँभन्दा पहिल्यै बेथसेदामा जान लगाउनुभयो। अनि आफूले चाहिँ भीडलाई बिदा दिनुभयो। तिनीहरूबाट बिदा भएपछि उहाँ प्रार्थना गर्नलाई एउटा पहाडमा जानुभयो। त्यस बेला रात परिसकेको थियो। डुङ्गा तालको माझमा थियो, र उहाँचाहिँ एकलै किनारमा हुनुहुन्थ्यो। उहाँले चेलाहरूलाई डुङ्गा खियाउनका लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो; किनकि बतास तिनीहरूको विपरीतबाट चलिरहेको थियो। अनि बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा, जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए; किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए। तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साहस गर! म नै हुँ; नडराओ।” तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, र बतास थामियो। तिनीहरू अत्यन्तै छक्‍क परे; किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थियो।

मर्कूस 6 पढ्नुहोस्