YouVersion लोगो
खोज आइकन

मर्कूस 14:22-52

मर्कूस 14:22-52 NCV

जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ। म साँच्‍चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्‍वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।” एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ: “ ‘म गोठालालाई हिर्काउनेछु, र भेडाहरू तितरबितर हुनेछन्।’ तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” पत्रुसले घोषणा गरे, “सबैले त्यागे तापनि मचाहिँ त्याग्नेछैनँ।” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आजै राति दुई पल्ट भाले बास्‍नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तर पत्रुसले जोडकासाथ भने, “यदि म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबैले त्यसै भने। त्यसपछि उहाँहरू गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना नगरुन्जेल तिमीहरू यहीँ बस।” उहाँले पत्रुस, याकोब र यूहन्‍नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्‍न र विचलित हुनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।” अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो। उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।” उहाँ फेरि पर जानुभयो र दोहोर्‍याएर उही प्रार्थना गर्नुभयो जब उहाँ फर्केर आउनुभयो, तब उहाँले फेरि पनि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। उहाँलाई के जवाफ दिनुपर्ने हो, सो तिनीहरूले जानेनन्। उहाँ तेस्रो पल्ट फर्किआउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? अब भयो! समय आइपुगेको छ। हेर, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!” उहाँ बोल्दै गर्नुहुँदा नै यहूदा, बाह्र चेलाहरूमध्ये एक, त्यहाँ देखा पर्‍यो। ऊसँग मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूद्वारा पठाइएका एउटा भीड तरवार र लाठाहरू लिएर आयो। त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्र र सुरक्षासाथ लैजाओ।” यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू!” भनेर उहाँलाई म्वाइँ खायो। ती मानिसहरूले येशूलाई पक्रे, र हिरासतमा लिए। तब त्यहाँ छेउमा उभिरहनेहरूमध्ये एक जनाले तरवार झिकेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्‍यो र उसको कान च्वाट्टै काटिदियो। येशूले भन्‍नुभयो, “के मैले विद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू तरवार र लाठाहरू लिएर मलाई पक्रन आउनुभएको छ? म दिनहुँ मन्दिरका चोकहरूमा सिकाउँदै तपाईंहरूसँगै थिएँ, र तपाईंहरूले मलाई पक्रनुभएन; किनकि धर्मशास्त्र पूरा हुनलाई यसो भएको हो।” तब सबैले उहाँलाई त्यागेर भागे। एक जना सुती लुगा मात्र लगाएको मानिसले येशूलाई पछ्याउँदैथियो। जब तिनीहरूले उसलाई समाते, त्यो आफ्नो लुगा छोडेर नाङ्गै भाग्यो।

मर्कूस 14 पढ्नुहोस्