अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, “लेओ, यो मेरो शरीर हो।”
अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति बगाइन्छ। साँच्चै, म तिमीहरूलाई भन्दछु, म दाखको रसबाट त्यस दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतून डाँड़ातिर जानुभयो।
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्तो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र भेड़ाहरू तितरबितर हुनेछन्।’ तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा पहिले गालीलमा जानेछु।”
पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे तापनि मचाहिँ हट्नेछैनँ।”
तब येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, आजकै राती भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
तर तिनले झन् जोड दिएर भने, “तपाईंसँग म मर्नैपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अनि तिनीहरू सबैले त्यसै भने।
त्यसपछि उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरुञ्जेल तिमीहरू यहीँ बस।” तब उहाँले पत्रुस, याकूब र यूहन्नालाई साथमा लैजानुभयो, र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
अनि अलि पर गएर उहाँ भूइँमा घोप्टिनुभयो, र हुन सक्छ भने त्यो घड़ी उहाँबाट टलोस् भनी प्रार्थना गर्नुभयो। अनि उहाँले भन्नुभयो, “अब्बा, पिता, तपाईंको निम्ति सबै कुरा सम्भव छ। यो कचौरा मबाट हटाइदिनुहोस्। तर पनि मैले इच्छा गरेजस्तो होइन, तपाईंले इच्छा गर्नुभएजस्तो होस्।”
उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, के तिमी निदाइरहेछौ? के एक घण्टा पनि जागा बस्न सकेनौ? जागा रहो, अनि प्रार्थना गर, र तिमीहरू परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।”
फेरि गएर उहाँले दोहोर्याएर त्यही प्रार्थना गर्नुभयो। फेरि आएर उहाँले तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले साह्रै लट्ठिएका थिए, र उहाँलाई के जवाफ दिने हो, सो जानेनन्।
उहाँ तेस्रो पल्ट आउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ? अब भयो, बेला आइपुग्यो। हेर, मानिसको पुत्र पापीहरूका हातमा पक्राउ पर्न लागेको छ। उठ, जाऔं। हेर, मलाई विश्वासघात गर्ने नजिकै छ।”
येशू बोल्दैहुनुहुँदा बाह्रै चेलाहरूमध्येको एक जना यहूदा अचानक त्यहाँ देखा पर्यो। मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्यससँग त्यहाँ आयो।
उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई यस्तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्वाइँ खाउँला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।” अनि सोझै येशूकहाँ गएर यहूदाले भन्यो, “हे रब्बी,” र उहाँलाई म्वाइँ खायो। तब तिनीहरूले येशूलाई समाते र गिरफ्तार गरे। त्यहाँ नजिक उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पूजाहारीको कमारालाई प्रहार गर्यो, र त्यसको कान च्वाट्ट काटिदियो।
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू एउटा डाँकूलाई जस्तै तरवार र लाठोसमेत लिएर मलाई पक्रन आएका छौ? दिनदिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ, र तिमीहरूले मलाई गिरफ्तार गरेनौ। तर धर्मशास्त्र पूरा होस्।” अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे।
आफ्नो शरीरलाई एउटा सूती कपड़ाले मात्र बेह्रेको एक जना जवान उहाँको पछि लाग्यो। तिनीहरूले त्यस जवानलाई समाते, तर कपड़ा छोड़ेर त्यो नाङ्गै भाग्यो।