YouVersion लोगो
खोज आइकन

मर्कूस 14:22-52

मर्कूस 14:22-52 सरल नेपाली

खाइरहेको बेलामा येशूले रोटी लिएर परमेश्‍वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिंदै भन्‍नुभयो, “यो लेओ, यो मेरो शरीर हो।” त्‍यसपछि उहाँले कचौरा पनि लिनुभयो, परमेश्‍वरलाई धन्‍यवाद चढाएर चेलाहरूलाई दिनुभयो र तिनीहरू सबैले त्‍यसबाट पिए। अनि येशूले भन्‍नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरै मानिसहरूका लागि बगाइनेछ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यमा नयाँ गरी नपिउञ्‍जेलसम्‍म म फेरि दाखमद्य पिउनेछैनँ।” उनीहरूले एउटा भजन गाएपछि जैतुन डाँडातिर लागे। त्‍यस बेला येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मलाई छोडेर भाग्‍नेछौ किनभने धर्मशास्‍त्रमा यसरी लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर भएर भाग्‍नेछन्। “तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” यतिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्‍यै पनि छोड्‍नेछैनँ।” येशूले पत्रुसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, भोलि बिहान भाले दुई पटक बास्‍नुअघि नै तिमीले चिन्‍दै चिन्‍दिनँ भनेर मलाई तीन पल्‍टसम्‍म इन्‍कार गर्नेछौ।” तर पत्रुसले अझै जोड दिएर भने, “तपाईंसँगै मर्नुपरे पनि म तपाईंलाई चिन्‍दिनँ भनेर भन्‍नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्‍यसै भने। त्‍यसपछि येशू आफ्‍ना चेलाहरूसँग गेतसमनी भन्‍ने बगैँचामा जानुभयो। त्‍यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गरुञ्‍जेल तिमीहरू यहीं बसिराख।” तर पत्रुस, याकूब र यूहन्‍नालाई चाहिँ उहाँले आफूसँगै लानुभयो। उहाँको मन पीडाले असाध्‍यै छट्पटाउन लाग्‍यो। अनि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मेरो मन दु:खले छट्पटिएर मुटु नै फुट्लाजस्‍तो भइरहेछ। तिमीहरू यहीं जागा भएर बस।” उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी ‘हुन सके आउन लागेको कष्‍टको समय मदेखि हटोस्’ भनेर प्रार्थना गर्न लाग्‍नुभयो। उहाँले यसो भन्‍दै प्रार्थना गर्नुभयो, “हे पिता, हे मेरा पिता, तपाईंले सबै कुरा गर्न सक्‍नुहुन्‍छ। अबचाहिँ यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्‍छा त होइन, तपाईंकै इच्‍छा पूरा होस्।” येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी निदाइहालेको? तिमी एक घण्‍टा पनि जागा बस्‍न सक्‍दैनौ? तिमीहरूले ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्‍चै आत्‍माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।” फेरि गएर येशूले अघिकै कुरा दोहोर्‍याएर प्रार्थना गर्नुभयो। अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि निदाइरहेका रहेछन्। तिनीहरूले आँखा उघार्नै सकेनन् र तिनीहरूलाई उत्तर दिने कुरा पनि केही आएन। तेस्रो चोटि चेलाहरू भएको ठाउँमा फर्की आएर येशूले भन्‍नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? अब सुत्‍ने बेला गयो। म मानव पुत्र पक्राउ परेर पापी मानिसको हातमा सुम्‍पिइने बेला भइसक्‍यो। अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस आइसकेछ।” येशूले कुरा गर्दागर्दै बाह्र जनामध्‍ये यहूदा भन्‍ने एक जना चेलाचाहिँ त्‍यहाँ आइपुग्‍यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको दल थियो। तिनीहरूलाई मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पठाएका थिए। पक्राइदिने यहूदाले ती मानिसहरूलाई यसो भनेको थियो, “जसलाई म म्‍वाइँ खान्‍छु, त्‍यही नै येशू हो, त्‍यसलाई नै पक्रिएर पहरा दिई लैजानू।” अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु!” भनेर म्‍वाइँ खायो। त्‍यति बेला नै तिनीहरूले येशूलाई पक्रे। तर उहाँको नजिकै उभिएको एक जनाले तरवार थुत्‍यो र हानेर प्रधान पूजाहारीको नोकरको कान काटिदियो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आएका? मैले दिनहुँ तिमीहरूसँगै बसेर मन्‍दिरमा शिक्षा दिंदा खै मलाई पक्रने आँट गरेनौ! तैपनि धर्मशास्‍त्रमा लेखिएको कुरा पूरा हुन आउनु नै पर्छ!” त्‍यति नै खेर सबै चेलाहरू येशूलाई छोडेर भागिहाले। एउटै मात्र लुगा बेरेको एक जना तन्‍नेरीले येशूलाई पछ्यायो अनि तिनीहरूले उसलाई पनि पक्रे। तर उसले आफ्‍नो लुगै छोडेर नाङ्गै भाग्‍यो।

मर्कूस 14 पढ्नुहोस्