एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे। तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।
जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो, अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।”
तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।”
यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्यो।
मुख्य पुजारीहरूले ती सिक्काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।” तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्ने निर्णय गरे। यसैकारण आजको दिनसम्म नै यसलाई रगतको जमिन भनिन्छ। तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीस वटा सिक्काहरू लिए, अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्न प्रयोग गरे।”
येशू राज्यपालको अगि उभिनुभयो, र राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैँले भन्नुभयो।”
जब उहाँलाई मुख्य पुजारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन। तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?” तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्क परे।
निस्तार चाडको समयमा भीडले चाहेबमोजिम एक जना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो। त्यस बेला तिनीहरूसित बारब्बा नाम भएको एक जना कुख्यात कैदी थियो। जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्ट भनिने येशूलाई?” किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो।
पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्ट भोगेकी छु।”
तर मुख्य पुजारीहरू र प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन माग गर्न भीडलाई उक्साए।
राज्यपालले सोधे, “दुई जनामा म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?”
तिनीहरूले जवाफ दिए, “बारब्बालाई।”
पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई म के गरूँ?”
तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?”
तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
जब पिलातसले आफ्नो केही सीप नलागेको, बरु अझ खैलाबैला मच्चिन सक्ने देखे, तब तिनले पानी लिए, र भीडको सामु आफ्ना हात धुँदै भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।”
सबै जनाले जवाफ दिए, “उसको रगत हामी र हाम्रा सन्तानमाथि परोस्।”
तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लगाउन लगाए, र उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।
तब राज्यपालका सिपाहीहरूले येशूलाई प्रेटोरियममा लगे, र सबै पल्टनलाई उहाँको चारैतिर भेला गराए। तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए। अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाए, र उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अगि घुँडा टेकेर उहाँलाई अपमान गर्दै भने, “यहूदीहरूका राजाको जय!” तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा घरी-घरी हिर्काए। उहाँलाई अपमान गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए; र उहाँलाई उहाँकै वस्त्र लगाइदिएपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।