YouVersion लोगो
खोज आइकन

मत्ती 27:1-31

मत्ती 27:1-31 NNRV

बिहान सबेरै, सबै मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्‍युदण्‍ड दिन भनी उहाँको विरुद्धमा सरसल्‍लाह गरे। अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्‍पिदिए। तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्‍डाज्ञा भएको देखिकन पछुतो गर्‍यो, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्‍का फिर्ता दिन ल्‍यायो, र भन्‍यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्‌।” तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो। तर मुख्‍य पूजाहारीहरूले चाँदीका ती सिक्‍काहरू लिएर भने, “ढुकुटीमा यो राख्‍न उचित छैन, किनकि यो रगतको मोल हो।” तिनीहरूले आपसमा सल्‍लाह गरेर त्‍यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने। यसैकारण त्‍यो जमिन आजसम्‍म पनि रगतको जमिन कहलाइन्‍छ। तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्‍का लिए, त्‍यस मूल्‍यको रूपमा, जुन मूल्‍य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए, र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्‍ति तिनीहरूले दिए।” येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्‍नुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।” अनि मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाफ दिनुभएन। तब पिलातसले उहाँलाई भने, “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्‍दैनौ?” तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्‍क परे। निस्‍तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो। त्‍यस बेला बारब्‍बा नाउँ भएको एक जना कुख्‍यात कैदी थियो। जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति कसलाई छोडिदिऊँ? बारब्‍बा कि ख्रीष्‍ट भनिने येशूलाई?” किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्‍पिदिएका हुन्‌ भनी तिनलाई थाहा थियो। तब न्‍याय-आसनमा बसिरहेको बेला तिनकी पत्‍नीले यसो भनी खबर पठाइन्, “त्‍यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।” तर मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्‍बालाई छोडिदिने र येशूलाई मृत्‍युदण्‍ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्‍याए। हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्‍ति मुक्त गरिदिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ?” तिनीहरूले भने, “बारब्‍बालाई।” पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्‍यो क्रूसमा टाँगिओस्‌।” तिनले भने, “किन? तिनले के अपराध गरेका छन्‌ र?” तर तिनीहरू अझ बढ़ी यसो भन्‍दै चिच्‍च्‍याए, “त्‍यो क्रूसमा टाँगिओस।” तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्‍चिन्‍छ भन्‍ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्‍ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।” सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्‍तानमाथि परोस्‌।” तब तिनले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्‍पिदिए। तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्‍मै पल्‍टनलाई उहाँको सामुन्‍ने भेला गराए। तिनीहरूले उहाँको वस्‍त्र फुकालेर उहाँलाई लाल वस्‍त्र लगाइदिए। तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।” तब तिनीहरूले उहाँलाई थुके, र त्‍यो निगालो लिएर उहाँको शिरमा हिर्काए। उहाँको गिल्‍ला गरिसकेपछि तिनीहरूले त्‍यो वस्‍त्र फुकालिदिए, र उहाँको आफ्‍नै वस्‍त्र पहिराएर उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे।