YouVersion लोगो
खोज आइकन

मत्ती 26:47-68

मत्ती 26:47-68 NCV

उहाँ बोलिरहनुभएकै बेला, बाह्रजनामध्येको एकजना यहूदा आइपुग्यो। ऊसित मुख्य पूजाहारीहरू र समाजका प्रधानहरूद्वारा पठाइएको ठूलो भीड हातमा तरवार र लाठीहरू लिएर आएको थियो। अब त्यस धोकेबाजले तिनीहरूसित एउटा सङ्केत मिलाएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्राउ गर।” यहूदा तुरुन्तै येशूकहाँ गयो, अनि “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो। येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आयौ त्यो गरिहाल।” तब ती मानिसहरू अघि बढेर, येशूलाई पक्रे र गिरफ्तार गरे। त्यसो हुँदा येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार निकाले अनि प्रधान पूजाहारीको सेवकलाई प्रहार गर्‍यो र उसको कान च्वाट्टै काटिदियो। येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा राख; किनकि जसले तरवार लिन्छ, त्यो तरवारद्वारा नै नष्‍ट हुनेछ। तिमीहरू के सम्झन्छौ, के म आफ्ना पितासित मेरो अधीनतामा बाह्र पल्टनभन्दा बढी दूतहरू झट्टै राखिदिनको लागि विन्ती गर्न सक्दिनँ र? तर त्यसो भयो भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्‍ने कुरा कसरी पूरा हुने त?” त्यस बेला येशूले त्यस भीडलाई भन्‍नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू मलाई पक्रन तरवार र लाठीहरू लिएर आउनुभयो? म ता दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थें, अनि तपाईंहरूले मलाई पक्रनुभएन। तर यी सबै अगमवक्‍ताहरूले लेखेका कुराहरू पूरा हुनालाई नै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई त्यागेर भागिहाले। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए। तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पूजाहारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे। मुख्य पूजाहारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नको लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए। तर धेरै झूटा साक्षीहरू अघि सरेर आए तापनि तिनीहरूले एउटै पनि पाएनन्। आखिरमा दुईजनाले अघि सरेर घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ” तब प्रधान पूजाहारी उठे र येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?” तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “म जीवित परमेश्‍वरको नाउँमा भन्छु: तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “हो, जस्तो तपाईंहरूले भन्‍नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसका पुत्रलाई सर्वशक्‍तिमानको दाहिने हातपट्टि बसिरहेका, र आकाशका बादलहरूमा आइरहेका देख्नुहुनेछ।” तब प्रधान पूजाहारीले आफ्नो वस्त्रहरू च्याते अनि भने, “यसले ईश्‍वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्‍वरनिन्दा सुनिहाल्नुभयो। तपाईंहरू के विचार गर्नुहुन्छ?” तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।” तब तिनीहरूले उहाँको अनुहारमा थुके अनि मुक्‍का लगाए। अरूले थप्पड लगाएर भने, “हे ख्रीष्‍ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?”

मत्ती 26 पढ्नुहोस्