YouVersion लोगो
खोज आइकन

मत्ती 26:47-68

मत्ती 26:47-68 सरल नेपाली

येशूले यो कुरा भनिरहँदा बाह्र जनामध्‍ये यहूदा भन्‍ने एक जना चेलाचाहिँ आइपुग्‍यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको ठूलो दल थियो। तिनीहरूलाई मुख्‍य पूजाहारी र अरू अगुवाहरूले पठाएका थिए। पक्राइदिने यहूदाले ती मानिसहरूलाई ‘जसलाई म म्‍वाइँ खान्‍छु, त्‍यही येशू हो, त्‍यसलाई नै पक्रिनू’ भनेको थियो। अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु” भनेर म्‍वाइँ खायो। येशूले भन्‍नुभयो, “ए साथी! जे गर्न आएका हौ, त्‍यो गरिहाल।” त्‍यत्तिकैमा तिनीहरूले येशूलाई पक्रे। यो देखेर येशूको एक जना चेलाले आफ्‍नो तरवार थुते र हानेर प्रधान पूजाहारीका नोकरको कान काटिदिए। तर येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा राख। तरवार चलाउनेहरू तरवारले नै मारिनेछन्। मैले मागेको भए मेरा पिताले मलाई झट्टै बाह्र पल्‍टनभन्दा पनि धेरै स्‍वर्गदूतहरू पठाइहाल्‍नुहुन्‍थ्‍यो। के तिमी यो हुन नसक्‍ने सम्‍झन्‍छौ? तर यदि मैले मागे भने त धर्मशास्‍त्रमा यस्‍तो हुनुपर्छ भनी लेखिएका कुरा कसरी पूरा हुन सक्‍छ र?” त्‍यसपछि येशूले आफूलाई पक्रन आएका मानिसहरूलाई भन्‍नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आयौ? मैले दिनहुँ मन्‍दिरमा बसेर शिक्षा दिँदा त खै मलाई पक्रने आँट नै गरेनौ! तैपनि अगमवक्ताहरूले धर्मशास्‍त्रमा लेखेका कुरा पूरा होऊन् भनेर नै यो सबै हुन आएको हो।” त्‍यति नै खेर चेलाहरू जति सबै येशूलाई छोडेर भागे। तिनीहरूले येशूलाई प्रधान पूजाहारी कैयाफाको घरमा लगे। त्‍यहाँ धर्म-गुरु र अरू अगुवाहरू जम्‍मा भएका थिए। पत्रुसचाहिँ येशूलाई परपरैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनमा पुगे। अनि त्‍यहाँ के हुने हो भनी हेर्न उनी गएर पालेहरूसँग बसे। मुख्‍य पूजाहारी र सभाका अरू सबै सदस्‍यहरूले येशूलाई ज्‍यान सजाय दिनु नै पर्छ भनेर झूटो गवाही खोज्‍न लागे। धेरै झूटो गवाही दिनेहरू आएर उहाँलाई दोष लगाए, तर एउटै प्रमाण पनि फेला पारेनन्। आखिरमा दुई जना मानिसले अघि सरेर भने, “यस मानिसले त ‘म परमेश्‍वरको मन्‍दिर भत्‍काएर तीन दिनमा नै फेरि बनाउन सक्‍छु’ भन्‍थ्‍यो।” अनि प्रधान पूजाहारीले उठेर येशूलाई सोधे, “ए, किन जवाफ दिँदैनस्? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा तँलाई केही भन्‍नु छैन?” तर येशू चुपै लाग्‍नुभयो। फेरि प्रधान पूजाहारीले भने, “जिउँदो परमेश्‍वरको नाउँमा शपथ हालेर भन्, के तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् त?” येशूले जवाफ दिएर भन्‍नुभयो, “त्‍यो त तपाईं आफैंले नै भन्‍दै हुनुहुन्‍छ अनि म तपाईंहरूलाई भन्‍छु, अबदेखि उसो तपाईंहरूले मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्‍वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्‍वर्गबाट बादलमा आउँदैगरेको देख्‍नुहुनेछ।” यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्‍नो लुगा च्‍यात्‍दै भने, “लौ हेर, यसले परमेश्‍वरको निन्‍दा गरेको तिमीहरूले सुनिहाल्‍यौ, अब हामीलाई अरू के प्रमाण चाहियो र? लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसले ज्‍यान सजाय पाउनैपर्छ,” भन्‍दै तिनीहरूले येशूको मुखमा थुके, चुटे अनि कति जनाले उहाँलाई थप्‍पड लाउँदै भने, “लौ भन् त, तँ मुक्ति दिने राजा ख्रीष्‍ट र अगमवक्तालाई कसले पिट्यो?”

मत्ती 26 पढ्नुहोस्