मत्ती 26:47-68
मत्ती 26:47-68 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ बोल्दाबोल्दै, बाह्रमध्येको एक जना, अर्थात् यहूदा आयो। त्यससँग मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो। उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्वाइँ खान्छु, तिनी नै हुन्, तिनैलाई समात।” तुरुन्तै येशूकहाँ गएर त्यसले भन्यो, “हे गुरु, प्रणाम!” र त्यसले उहाँलाई म्वाइँ खायो। येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका छौ, त्यो गरिहाल।” तब तिनीहरूले अगि आएर येशूलाई समाती गिरफ्तारी गरे। येशूको साथमा हुनेहरूमध्ये एउटाले हात बढ़ाएर आफ्नो तरवार झिक्यो, र मुख्य पूजाहारीको दासलाई प्रहार गर्यो, र त्यसको कान छिनाइदियो। तब येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन्। तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढ़ी मेरो निम्ति पठाइदिनुहुन्न र? तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने?” त्यसै बेला येशूले भीड़लाई भन्नुभयो, “डाँकूको विरुद्धमा आएझैँ मलाई पक्रन तरवार र लाठाहरू लिएर तिमीहरू किन आयौ? म दिनहुँ मन्दिरमा शिक्षा दिँदै बस्थें, र तिमीहरूले मलाई पक्रेनौ। तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी यी सबै हुन आएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोड़ेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्म-गुरुहरू भेला भएका थिए। तर पत्रुस टाढ़ैबाट प्रधान पूजाहारीका भवनको आँगनसम्मै उहाँको पछिपछि लागे, र अन्त्यमा के हुने हो, सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरुद्धमा झूटो गवाही खोज्न लागे। धेरै झूटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जना अगि आए, र भने, “यस मानिसले ‘म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्छु’ भन्यो।” तब प्रधान पूजाहारीले उठेर उहाँलाई भने, “के तँ केही जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?” तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस्?” येशूले तिनलाई भन्नुभयो, “तपाईंले नै भनिहाल्नुभयो। तापनि म तपाईंहरूलाई भन्दछु, अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।” तब प्रधान पूजाहारीले आफ्ना वस्त्र च्याते र भने, “यसले त ईश्वर-निन्दा बोल्यो। हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईंहरूले अहिले यसले बोलेको ईश्वर-निन्दा सुनिहाल्नुभयो। तपाईंहरूको के राय छ?” तिनीहरूले जवाफ दिए, “यो प्राणदण्डको योग्य छ।” तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए, र कसै-कसैले यसो भन्दै थप्पड़ लाए, “हे ख्रीष्ट, लौ, अगमवाणी भन्! तँलाई हिर्काउने को हो?”
मत्ती 26:47-68 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो। त्यस विश्वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।” यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो। येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।” तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए। यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो। येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्ट हुनेछ। तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्न र? तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्ने कुरा कसरी पूरा हुने त?” त्यस बेला येशूले त्यस भीडलाई भन्नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु र? अनि तपाईंहरू मलाई पक्रन तरवार र लाठाहरू लिएर आउनुभयो? म त दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थेँ, र तपाईंहरूले मलाई पक्रनुभएन। तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए। तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे। मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए। तर धेरै झूटा साक्षीहरू अगि सरेर आए, तापनि तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जनाले अगि सरेर घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ” तब प्रधान पुजारी उठेर येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?” तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “म जीवित परमेश्वरको नाममा भन्दछु: तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसिरहेको, र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।” तब प्रधान पुजारीले आफ्नो वस्त्रहरू च्यातेर भने, “यसले ईश्वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्वरनिन्दा सुनिहाल्नुभयो। तपाईंहरू के विचार गर्नुहुन्छ?” तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।” तब तिनीहरूले उहाँको अनुहारमा थुके, मुक्का लगाए। अरूले थप्पड लगाएर भने, “हे ख्रीष्ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?”
मत्ती 26:47-68 पवित्र बाइबल (NERV)
जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए। यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनु।” अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए। येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।” त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए। जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान च्वाट्ट छिनाइदियो। येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ। तिमीलाई थाहा छ, मैले मेरा पितासँग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न? तर मैले गरे भने धर्मशास्त्रहरूमा लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्छ।” तब येशूले सबै मानिसहरूलाई भन्नुभयो, “तिमीहरू मकहाँ तरवार र भालाहरू लिएर आयौ, मानौं म एक अपराधी हूँ। म प्रत्येक दिन मन्दिरमा बसेर सिकाइरहेको हुन्थे। अनि तिमीहरूले मलाई त्यहाँ पक्रेनौ। तर यी सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एक्लो छोडेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रमुख पुजाहारी कैयाफाको घरमा पुर्याए। शास्त्रीहरू र बूडा यहूदी अग्रजहरू त्यहाँ भेला भएका थिए। पत्रुसले परमेश्वरबाट येशूलाई पछ्याए। जब येशूलाई प्रघान पूजाहारी कहाँ लगिंदै थियो पत्रुस प्रधान पूजाहारीको घरको आँगनसम्म आए। उनी त्यहाँ गएर पालेहरूको नजिकै बसे। अब के हुने हो भनी पत्रुस हेर्न चाहन्थे। प्रघान पूजाहारीहरू र यहूदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे। धेरै मानिसहरू आए र येशूको विरुद्ध झूटा अभियोगहरू लगाए। तर महासभाले येशूलाई मार्नसकिने त्यस्तो कुनै अभियोग पाउन सकेन। तब दुइजना मानिस आएर भन्न लागे, “यो मानिसले ‘म परमेश्वरको मन्दिर भत्काउन सक्छु अनि तीन दिनभित्र फेरि म यसलाई बनाइदिन सक्छु भनेको छ।’” अनि प्रधान पूजाहरीले उठेर येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा अभियोग लगाएका छन्। के आफूमाथि लगाइएका आरोपहरूप्रति तपाईंको केही जवाफ छैन? के तिनीहरूले ठीकै भनेका हुन्?” येशूले केही भन्नु भएन। तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?” येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।” प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खुबै क्रोधित भए। आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरू धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ। तिमीहरूको के राय छ?” यहूदीहरूले जवाफ दिए, “उनी दोषी छन् उनी मृत्यु दण्डको योग्यछन्।” त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए। तिनीहरूले भने, “तँ अगमवक्ता ख्रीष्ट हो भन्ने प्रमाण देखाऊ! तँलाई पिट्ने को हो?”
मत्ती 26:47-68 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले यो कुरा भनिरहँदा बाह्र जनामध्ये यहूदा भन्ने एक जना चेलाचाहिँ आइपुग्यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको ठूलो दल थियो। तिनीहरूलाई मुख्य पूजाहारी र अरू अगुवाहरूले पठाएका थिए। पक्राइदिने यहूदाले ती मानिसहरूलाई ‘जसलाई म म्वाइँ खान्छु, त्यही येशू हो, त्यसलाई नै पक्रिनू’ भनेको थियो। अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु” भनेर म्वाइँ खायो। येशूले भन्नुभयो, “ए साथी! जे गर्न आएका हौ, त्यो गरिहाल।” त्यत्तिकैमा तिनीहरूले येशूलाई पक्रे। यो देखेर येशूको एक जना चेलाले आफ्नो तरवार थुते र हानेर प्रधान पूजाहारीका नोकरको कान काटिदिए। तर येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख। तरवार चलाउनेहरू तरवारले नै मारिनेछन्। मैले मागेको भए मेरा पिताले मलाई झट्टै बाह्र पल्टनभन्दा पनि धेरै स्वर्गदूतहरू पठाइहाल्नुहुन्थ्यो। के तिमी यो हुन नसक्ने सम्झन्छौ? तर यदि मैले मागे भने त धर्मशास्त्रमा यस्तो हुनुपर्छ भनी लेखिएका कुरा कसरी पूरा हुन सक्छ र?” त्यसपछि येशूले आफूलाई पक्रन आएका मानिसहरूलाई भन्नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आयौ? मैले दिनहुँ मन्दिरमा बसेर शिक्षा दिँदा त खै मलाई पक्रने आँट नै गरेनौ! तैपनि अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका कुरा पूरा होऊन् भनेर नै यो सबै हुन आएको हो।” त्यति नै खेर चेलाहरू जति सबै येशूलाई छोडेर भागे। तिनीहरूले येशूलाई प्रधान पूजाहारी कैयाफाको घरमा लगे। त्यहाँ धर्म-गुरु र अरू अगुवाहरू जम्मा भएका थिए। पत्रुसचाहिँ येशूलाई परपरैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनमा पुगे। अनि त्यहाँ के हुने हो भनी हेर्न उनी गएर पालेहरूसँग बसे। मुख्य पूजाहारी र सभाका अरू सबै सदस्यहरूले येशूलाई ज्यान सजाय दिनु नै पर्छ भनेर झूटो गवाही खोज्न लागे। धेरै झूटो गवाही दिनेहरू आएर उहाँलाई दोष लगाए, तर एउटै प्रमाण पनि फेला पारेनन्। आखिरमा दुई जना मानिसले अघि सरेर भने, “यस मानिसले त ‘म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा नै फेरि बनाउन सक्छु’ भन्थ्यो।” अनि प्रधान पूजाहारीले उठेर येशूलाई सोधे, “ए, किन जवाफ दिँदैनस्? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा तँलाई केही भन्नु छैन?” तर येशू चुपै लाग्नुभयो। फेरि प्रधान पूजाहारीले भने, “जिउँदो परमेश्वरको नाउँमा शपथ हालेर भन्, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् त?” येशूले जवाफ दिएर भन्नुभयो, “त्यो त तपाईं आफैंले नै भन्दै हुनुहुन्छ अनि म तपाईंहरूलाई भन्छु, अबदेखि उसो तपाईंहरूले मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्वर्गबाट बादलमा आउँदैगरेको देख्नुहुनेछ।” यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्नो लुगा च्यात्दै भने, “लौ हेर, यसले परमेश्वरको निन्दा गरेको तिमीहरूले सुनिहाल्यौ, अब हामीलाई अरू के प्रमाण चाहियो र? लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसले ज्यान सजाय पाउनैपर्छ,” भन्दै तिनीहरूले येशूको मुखमा थुके, चुटे अनि कति जनाले उहाँलाई थप्पड लाउँदै भने, “लौ भन् त, तँ मुक्ति दिने राजा ख्रीष्ट र अगमवक्तालाई कसले पिट्यो?”