तब येशूले तिनीहरूलाई भन्नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, र बगालका भेडाहरू तितरबितर हुनेछन्।’ तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मचाहिँ कहिल्यै त्याग्नेछैनँ।” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आज राति नै भाले बास्नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यही प्रकारले भने। तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!” उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!” अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।” उहाँ दोस्रो पल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।” जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई छोडेर एक पल्ट फेरि गएर उही शब्दहरू दोहोर्याउँदै प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”
मत्ती 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:31-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू