त्यस बेला येशूले चेलाहरूलाई भन्नुभयो, “आज राती तिमीहरू सबै जना मलाई छोडेर भाग्नेछौ। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर हुनेछन्। तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” यत्तिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्यै छोड्नेछैन।” येशूले भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, भोलि बिहान भाले बास्नुभन्दा अघि नै मलाई चिन्दैचिन्दिनँ भनेर तिमीले तीनपल्टसम्म इन्कार गर्नेछौ।” “तपाईंसँग मर्नुपरे पनि म तपाईंलाई चिन्दिनँ भनेर कहिल्यै पनि भन्नेछैन!” पत्रुसले जवाफ दिए। अरू सबै चेलाहरूले पनि त्यसै भने। त्यसपछि येशू आफ्ना चेलाहरूसँग गेतसमनी भन्ने बगैँचामा जानुभयो। त्यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू यहीँ बसिराख है, म अलि पर गएर प्रार्थना गर्छु।” तर पत्रुस र जब्दियाका दुई छोरालाई चाहिँ उहाँले आफूसँगै लानुभयो अनि येशू असाध्यै दु:ख र पीडामा पर्नुभयो। उहाँले चेलाहरूलाई भन्नुभयो, “मेरो मन दु:खले छटपटाएर मुटु नै फुट्लाजस्तो भइरहेछ। तिमीहरूचाहिँ जागा भई यहाँ बसेर मलाई साथ देओ।” उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्टो परी यसो भन्दै प्रार्थना गर्न लाग्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तरै पनि मेरो इच्छा त होइन, तपाईंकै इच्छा पूरा होस्।” येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू निदाइरहेका भेट्टाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “के तिमीहरू एक घण्टा पनि मेरो लागि जागै बस्न सक्दैनौ? तिमीहरू ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्चै आत्माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।” फेरि गएर येशूले दोस्रोपल्ट यसो भनेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यो दु:खको घुट्को मैले नलिई नहुने भए, तपाईंकै इच्छा पूरा होस्।” अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि पनि निदाइरहेका भेट्टाउनुभयो। तिनीहरूले आँखा उघार्न नै सकेनन्। अनि येशूले तिनीहरूलाई त्यत्तिकै छोडेर गई तेस्रोपल्ट फेरि अघिजस्तै प्रार्थना गर्नुभयो। त्यसपछि उहाँ चेलाहरू भएको ठाउँमा फर्की आएर भन्नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? सुन, म मानव पुत्र पापी मानिसको हातमा सुम्पिने बेला भइसक्यो। अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस पनि आइसकेछ।”
मत्ती 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:31-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू