YouVersion लोगो
खोज आइकन

मत्ती 26:31-46

मत्ती 26:31-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्‍ट हुनेछन्‌।’ तर म मृत्‍युबाट जीवित भएपछि तिमीहरूभन्‍दा अगि गालीलमा जानेछु।” पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्‍यै पछि हट्‌नेछैनँ।” येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, आजै राती भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।” पत्रुसले उहाँलाई भने, “मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ।” अरू सबै चेलाहरूले पनि त्‍यसै भने। तब येशू गेतसमनी भन्‍ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू यहीँ बस, मचाहिँ अलि पर गएर प्रार्थना गर्छु।” र आफूसँग पत्रुस र जब्‍दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्‍याकुल हुन लाग्‍नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्‍य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।” अनि उहाँले अलि अगाडि गएर लम्‍पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने, यो कचौरा मबाट हटोस्‌। तरै पनि मैले इच्‍छा गरेबमोजिम होइन, तर तपाईंले इच्‍छा गर्नुभएबमोजिम होस्‌।” तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्‍टा पनि जागा बस्‍न सकेनौ? जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।” फेरि दोस्रो पल्‍ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्‍छा पूरा होस्‌।” उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्‌नुभयो, र गएर फेरि उही शब्‍दहरू दोहोर्‍याई तेस्रो पल्‍ट प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ। उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।”

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्

मत्ती 26:31-46 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, र बगालका भेडाहरू तितरबितर हुनेछन्।’ तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मचाहिँ कहिल्यै त्याग्नेछैनँ।” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आज राति नै भाले बास्‍नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यही प्रकारले भने। तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!” उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!” अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।” उहाँ दोस्रो पल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।” जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई छोडेर एक पल्ट फेरि गएर उही शब्दहरू दोहोर्‍याउँदै प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्

मत्ती 26:31-46 पवित्र बाइबल (NERV)

येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ; ‘म गोठलोलाई प्रहार गर्नेछु, अनि बथानका भेंडा़हरू छरपष्ट हुनेछन्।’ तर म मरेपछि, म मृत्युदेखि बौरी उठ्नेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू पुग्नुअघिनै म त्यहाँ जानेछु।” पत्रुसले भने, “सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।” येशूले भन्नुभयो, “म तिमीलाई साँच्चो भन्दछु। आजै राती भाले बास्नु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ।” तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए। त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।” येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुःखी र विचलित हुनुभयो। येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दु:खै दु:खले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।” अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।” त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ फर्किनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ? जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।” त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु होस्।” येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए। यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो। तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ। उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासधात गर्ने आउँदैछ।”

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्

मत्ती 26:31-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यस बेला येशूले चेलाहरूलाई भन्‍नुभयो, “आज राती तिमीहरू सबै जना मलाई छोडेर भाग्‍नेछौ। किनभने धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर हुनेछन्। तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” यत्तिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्‍यै छोड्‍नेछैन।” येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, भोलि बिहान भाले बास्‍नुभन्दा अघि नै मलाई चिन्‍दैचिन्‍दिनँ भनेर तिमीले तीनपल्‍टसम्‍म इन्‍कार गर्नेछौ।” “तपाईंसँग मर्नुपरे पनि म तपाईंलाई चिन्‍दिनँ भनेर कहिल्‍यै पनि भन्‍नेछैन!” पत्रुसले जवाफ दिए। अरू सबै चेलाहरूले पनि त्‍यसै भने। त्‍यसपछि येशू आफ्‍ना चेलाहरूसँग गेतसमनी भन्‍ने बगैँचामा जानुभयो। त्‍यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू यहीँ बसिराख है, म अलि पर गएर प्रार्थना गर्छु।” तर पत्रुस र जब्‍दियाका दुई छोरालाई चाहिँ उहाँले आफूसँगै लानुभयो अनि येशू असाध्‍यै दु:ख र पीडामा पर्नुभयो। उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मेरो मन दु:खले छटपटाएर मुटु नै फुट्लाजस्‍तो भइरहेछ। तिमीहरूचाहिँ जागा भई यहाँ बसेर मलाई साथ देओ।” उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी यसो भन्‍दै प्रार्थना गर्न लाग्‍नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तरै पनि मेरो इच्‍छा त होइन, तपाईंकै इच्‍छा पूरा होस्।” येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू निदाइरहेका भेट्टाउनुभयो। येशूले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू एक घण्‍टा पनि मेरो लागि जागै बस्‍न सक्‍दैनौ? तिमीहरू ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्‍चै आत्‍माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।” फेरि गएर येशूले दोस्रोपल्‍ट यसो भनेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यो दु:खको घुट्को मैले नलिई नहुने भए, तपाईंकै इच्‍छा पूरा होस्।” अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि पनि निदाइरहेका भेट्टाउनुभयो। तिनीहरूले आँखा उघार्न नै सकेनन्। अनि येशूले तिनीहरूलाई त्‍यत्तिकै छोडेर गई तेस्रोपल्‍ट फेरि अघिजस्‍तै प्रार्थना गर्नुभयो। त्‍यसपछि उहाँ चेलाहरू भएको ठाउँमा फर्की आएर भन्‍नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? सुन, म मानव पुत्र पापी मानिसको हातमा सुम्‍पिने बेला भइसक्‍यो। अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस पनि आइसकेछ।”

शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्