YouVersion लोगो
खोज आइकन

मत्ती 24:1-22

मत्ती 24:1-22 NCV

येशूले मन्दिर छोडेर गइरहनुहुँदा, चेलाहरू उहाँको ध्यान मन्दिरको बनौटतिर आकर्षित गर्नलाई उहाँकहाँ आए। उहाँले सोध्नुभयो, “के तिमीहरू यी सब थोक देख्दैछौ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँको एउटा ढुङ्गा पनि अर्कोमाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।” येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्‍क उहाँकहाँ आए। तिनीहरूले भने, “हामीलाई भन्‍नुहोस्, यो कहिले हुनेछ, अनि तपाईंको आगमनको र जगतको अन्त्यको चिन्ह के हुनेछ?” येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। किनकि धेरैजना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ,’ भन्‍ने दाबी गर्दै आउनेछन् अनि धेरैलाई धोका दिनेछन्। तिमीहरूले लडाइँहरू र लडाइँका हल्‍लाहरू सुन्‍नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ, तर अन्त्य आउन अझै बाँकी नै छ। जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुँइचालाहरू जानेछन्। तर यी सबै त प्रसववेदनाको सुरुआतजस्तै मात्र हुन्। “तब तिमीहरू सताइनको लागि र मारिनको लागि सुम्पिइनेछौ, अनि तिमीहरू मेरो निम्ति सबै राष्ट्रहरूद्वारा घृणित हुनेछौ। त्यस बेला धेरैजना विश्‍वासबाट पछि हट्नेछन्, अनि एक-आपसमा धोकाबाजी र घृणा गर्नेछन्। अनि धेरै झूटा अगमवक्‍ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। दुष्‍टता बढेकोले, धेरैको प्रेम सेलाउनेछ, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ। अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्‍वभरि प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। “यसरी जब तिमीहरूले दानिएल अगमवक्‍ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’ पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्— तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नझरोस्। खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्। ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्! तिमीहरूको भागा-भाग विश्रामदिनमा अथवा हिउँदमा नहोस् भनी प्रार्थना गर। किनकि त्यस बेला यस्तो महासङ्कष्‍ट हुनेछ कि, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो न ता फेरि कहिल्यै हुनेछ। “यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्ने थिएन, तर चुनिएकाहरूको निम्ति ती दिनहरू घटाइनेछन्।

मत्ती 24 पढ्नुहोस्