YouVersion लोगो
खोज आइकन

मत्ती 24:1-22

मत्ती 24:1-22 NNRV

त्‍यसपछि येशू मन्‍दिरबाट निस्‍केर जान लाग्‍नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्‍दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए। तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरूले यी सब देख्‍छौ, होइन त? साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्‍येक भत्‍काएर फालिनेछ।” येशू जैतून डाँड़ामा बस्‍नुहुँदा चेलाहरू एकान्‍तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्‍त्‍यको चिन्‍ह के हुनेछ?” तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌। किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्‌। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन। किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌। तर यी सब त प्रसववेदनाको सुरु मात्र हो। “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्‍पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌। तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ। धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌। दुष्‍टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ। तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ। अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ। “यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्‍थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्‌), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌। कौसीमा हुनेहरू आफ्‍ना घरमा भएका सामान निकाल्‍नलाई तल नझरून्‌। खेतबारीमा हुने आफ्‍नो खास्‍टो लिन फर्की नआऊन्‌। हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा। तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्‍न नपरोस्‌ भनी प्रार्थना गर। किनकि त्‍यस बेला यस्‍तो महासङ्कष्‍ट हुनेछ, जो जगत्‌को सुरुदेखि अहिलेसम्‍म भएको छैन, न त फेरि कहिल्‍यै हुनेछ। ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍नेथिएन, तर चुनिएकाहरूका निम्‍ति ती दिन घटाइनेछन्‌।