मत्ती 24:1-22
मत्ती 24:1-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि येशू मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए। तर उहाँले तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूले यी सब देख्छौ, होइन त? साँच्चै, म तिमीहरूलाई भन्छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्येक भत्काएर फालिनेछ।” येशू जैतून डाँड़ामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?” तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन। किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्। तर यी सब त प्रसववेदनाको सुरु मात्र हो। “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। तब धेरै जना भड्केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ। धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्। दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ। तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ। अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। “यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्। कौसीमा हुनेहरू आफ्ना घरमा भएका सामान निकाल्नलाई तल नझरून्। खेतबारीमा हुने आफ्नो खास्टो लिन फर्की नआऊन्। हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा। तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर। किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ। ती दिन नघटाइएका भए कोही मानिस बाँच्न सक्नेथिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।
मत्ती 24:1-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले मन्दिर छोडेर जान लाग्दा उहाँका चेलाहरू उहाँको ध्यान मन्दिरको बनावटतिर आकर्षित गराउन उहाँकहाँ आए। उहाँले सोध्नुभयो, “के तिमीहरू यी सबै थोक देख्दैछौ? म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को रहनेछैन, तर प्रत्येक ढुङ्गा भत्काएर फ्याँकिनेछ।” येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्को अन्त्यको चिन्ह के हुनेछ?” येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। किनकि धेरै जना ‘म ख्रीष्ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्। तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ। जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्। यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्। “तब तिनीहरूले तिमीहरूलाई सताइनका लागि र मारिनका लागि सुम्पिइनेछन्; अनि मेरा निम्ति सबै राष्ट्रहरूद्वारा तिमीहरू घृणित हुनेछौ। त्यस बेला धेरै जना विश्वासबाट पछि हट्नेछन्, र एक-आपसमा विश्वासघात र घृणा गर्नेछन्। अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। दुष्टता बढेकोले धेरैको प्रेम सेलाउनेछ, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ। अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्वभरि प्रचार गरिनेछ; त्यसपछि अन्त्य आउनेछ। “यसरी जब तिमीहरूले दानिएल अगमवक्ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’ पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्, तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नओर्लोस्। खेतमा हुने कोही पनि आफ्ना लुगा लिन फर्केर नजाओस्। ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्! शब्बाथ अथवा हिउँदमा तिमीहरू भाग्नु नपरोस् भनी प्रार्थना गर। किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ। “यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्न सक्ने थिएन; तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्।
मत्ती 24:1-22 पवित्र बाइबल (NERV)
जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए। येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँच्चो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।” त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घट्ना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?” येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्। धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्। तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घट्नाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन। किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ। यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्। “त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ। त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्। अनेकौं झूटा अगमवक्ताहरू निस्कनेछन्। तिनीहरूले मानिसहरूलाई झूटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्। संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्। तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ। संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ। “दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूले विध्वंश ल्याउने छ’ भनी बताएका थिए। तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएको देख्नेछौ” यी कुरा पढ्ने मानिसले यसको अर्थ बुझ्नुपर्छ। “त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ। मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन। यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन। “त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दु:ध चुसाउने आमाहरूका निम्ति खुबै दु:खपूर्ण हुनेछ। विश्राम र जाडोको समयमा यसरी भाग्नु नपरोस् भनी प्रार्थना गर। किनभने त्यसबेला अत्यन्त दुःख हुनेछ। सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दु:ख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दु:ख आइपर्ने छैन। “परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।
मत्ती 24:1-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू मन्दिरबाट निस्केर जाँदै हुनुहुन्थ्यो। त्यति बेलै चेलाहरू आएर उहाँलाई मन्दिरको सुन्दरता देखाए। अनि येशूले भन्नुभयो, “तिमीहरूले यी सब देख्नेछौ? साँच्चै म तिमीहरूलाई भन्छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्काइनेछ।” केही समयपछि येशू जैतुन डाँडामा बसिरहनुभएको बेलामा चेलाहरूले सुटुक्क आएर उहाँलाई सोधे, “गुरुज्यू, हामीलाई भन्नुहोस् न, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईं फर्की आउन लाग्नुभएको र संसारको अन्त हुन आँटेको छ भनी हामीले कसरी थाहा पाउन सक्छौं?” येशूले जवाफ दिनुभयो, “होशियार रहो! कसैले पनि तिमीहरूलाई छकाउन नपाओस् किनभने धेरै मानिसहरू ‘मुक्ति दिने ख्रीष्ट मै हुँ’ भन्दै मेरो नाउँमा आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्। तिमीहरूले लडाइँ भयो भन्ने र लडाइँ हुने हल्लाहरू सुन्नेछौ। तर त्यस बेला तिमीहरू नडराउनू। ती सबै कुराहरू त हुनु नै पर्छ, तर त्यति नै खेर त संसारको अन्त हुँदैन। जाति-जातिको बीचमा लडाइँ चल्नेछ। अनि एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ। जताततै अनिकालपर्नेछ र भूइँचालो जानेछ। यी कुराहरू त दु:खको सुरु मात्रै हो। “त्यस बेला मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सजाय दिन लैजानेछन्, अझै मार्ने पनि छन्। मेरो कारणले गर्दा सबै जातिका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्। त्यस बेला धेरैले आफ्नो विश्वासलाई त्याग्नेछन्, एकले अर्कालाई धोखाबाजी गर्नेछन्, घृणा गर्नेछन्। धेरै झूटा अगमवक्ताहरू निस्केर धेरै मानिसहरूलाई छकाउनेछन्। जताततै दुष्टता बढ्ने हुनाले धेरै मानिसहरूको प्रेम पनि सेलाएर जानेछ। तर आखिरसम्मै स्थिर रहनेहरूचाहिँ बचाइनेछ। सबै जातिका मानिसहरूलाई साक्षी होस् भनेर पहिले परमेश्वरको राज्यको सुसमाचार संसारभरि सुनाइनेछ। त्यसपछि संसारको अन्त हुनेछ। “अगमवक्ता दानिएलले ‘मन्दिरको पवित्र ठाउँमा घिनलाग्दो कुरा राखिएको हुनेछ’ भनेको तिमीहरूले देख्नेछौ। (यसको अर्थ पढ्नेहरूले बुझून्)। त्यस बेला यहूदियामा हुनेहरू पहाडतिर भागून्। घरका छतमा हुनेहरू सामान लिन भित्र जाँदैनजाऊन्। खेत-बारीमा हुनेहरू लाउने लुगासम्म पनि लिन फर्केर घरमा नजाऊन्। त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई त झन् बिजोग हुनेछ। जाडो महिना र विश्रामको दिनमा भाग्नुनपरोस् भनेर तिमीहरूले परमेश्वरसँग प्रार्थना गर किनभने ती दिनहरूमा आइपर्नेजस्तो आपत् र हाहाकार त संसारको सुरुदेखि अहिलेसम्म भएकै छैन र पछि पनि हुनेछैन। परमेश्वरले ती आपत्का दिनहरू नघटाउनुभएको भए कोही पनि बाँच्न सक्ने थिएनन्। तर आफ्ना छानेका मानिसहरूको कारणले गर्दा उहाँले ती दिन घटाइदिनुहुनेछ।