YouVersion लोगो
खोज आइकन

मत्ती 21:23-32

मत्ती 21:23-32 NCV

येशू मन्दिरका चोकहरूमा आउनुभयो, अनि, उहाँले शिक्षा दिँदैगर्दा मुख्य पूजाहारीहरू अनि जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?” येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। यदि तिमीहरूले जवाफ दियौ भने, म तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्दैछु भनी भन्‍नेछु। यूहन्‍नाको बप्‍तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” तिनीहरूले आपसमा छलफल गरे अनि भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौं भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्‍वास गरेनौ’ भनी भन्‍नेछन्। तर यदि हामीले ‘मानिसबाट’ हो भन्यौं भने हामीलाई मानिसहरूको डर लाग्छ, किनकि तिनीहरू सबैले यूहन्‍नालाई अगमवक्‍ता भनी मान्छन्।” त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौं।” तब उहाँले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु त्यो भन्दिनँ। “तिमीहरू के सोच्छौ? एकजना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गए अनि भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे।’ “त्यसले जवाफ दियो, ‘म जान्‍नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्‍यो अनि गयो। “तब ती बुबा अर्को छोराकहाँ गए अनि त्यही कुरा भने। त्यसले जवाफ दियो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन। “ती दुईमध्ये कसले बुबाले इच्छा गरेको कुरा गरे?” तिनीहरूले भने, “पहिलोले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म साँच्‍चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्‍वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्। किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, अनि तिमीहरूले उनलाई विश्‍वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेर विश्‍वास गरेनौ।

मत्ती 21 पढ्नुहोस्