YouVersion लोगो
खोज आइकन

मत्ती 21:23-32

मत्ती 21:23-32 NNRV

उहाँ मन्‍दिरमा प्रवेश गर्नुभयो, अनि उहाँले शिक्षा दिनुहुँदा मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू उहाँकहाँ आए, र भने, “कुन अधिकारले तिमी यी कामहरू गर्छौ, र कसले तिमीलाई यो अधिकार दियो?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु। मलाई त्‍यसको उत्तर दियौ भने, म कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई बताउनेछु। यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट भयो? स्‍वर्गबाट कि मानिसहरूबाट?” तिनीहरू आपसमा यसो भन्‍दै बहस गर्न लागे, “स्‍वर्गबाट भनौं भने, तिनले ‘उसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भन्‍नेछन्‌। तर मानिसहरूबाट भनौं भने, हामीलाई मानिसहरूको डर छ। किनभने सबैले यूहन्‍नालाई अगमवक्ता हुन्‌ भनी मान्‍छन्‌।” यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामीलाई थाहा छैन।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म पनि कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍दिनँ।” “तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई छोरा थिए। उसले पहिलोकहाँ आएर भन्‍यो, ‘छोरो, गएर आज दाखबारीमा काम गरिदे।’ त्‍यसले जवाफ दियो, ‘म जान्‍नँ।’ तर पछिबाट पछुताएर गयो। “दोस्राकहाँ आएर उसले त्‍यसै भन्‍यो। त्‍यसले जवाफ दियो, ‘म जान्‍छु।’ तर गएन। “अब यी दुईमा कुनचाहिँले बाबुको इच्‍छा पालन गर्‍यो?” तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कर उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्‍दा अघि परमेश्‍वरको राज्‍यमा प्रवेश गर्छन्‌। किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्‍वास गरेनौ। तर कर उठाउनेहरू र वेश्‍याहरूले उनीमाथि विश्‍वास गरे। तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेनौ, अनि उनीमाथि विश्‍वास गरेनौ।”