मत्ती 21:23-32
मत्ती 21:23-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ मन्दिरमा प्रवेश गर्नुभयो, अनि उहाँले शिक्षा दिनुहुँदा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू उहाँकहाँ आए, र भने, “कुन अधिकारले तिमी यी कामहरू गर्छौ, र कसले तिमीलाई यो अधिकार दियो?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई त्यसको उत्तर दियौ भने, म कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई बताउनेछु। यूहन्नाको बप्तिस्मा कहाँबाट भयो? स्वर्गबाट कि मानिसहरूबाट?” तिनीहरू आपसमा यसो भन्दै बहस गर्न लागे, “स्वर्गबाट भनौं भने, तिनले ‘उसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भन्नेछन्। तर मानिसहरूबाट भनौं भने, हामीलाई मानिसहरूको डर छ। किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनी मान्छन्।” यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामीलाई थाहा छैन।” उहाँले तिनीहरूलाई भन्नुभयो, “म पनि कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई भन्दिनँ।” “तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई छोरा थिए। उसले पहिलोकहाँ आएर भन्यो, ‘छोरो, गएर आज दाखबारीमा काम गरिदे।’ त्यसले जवाफ दियो, ‘म जान्नँ।’ तर पछिबाट पछुताएर गयो। “दोस्राकहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाफ दियो, ‘म जान्छु।’ तर गएन। “अब यी दुईमा कुनचाहिँले बाबुको इच्छा पालन गर्यो?” तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन्। किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ। तर कर उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेर पनि पश्चात्ताप गरेनौ, अनि उनीमाथि विश्वास गरेनौ।”
मत्ती 21:23-32 नेपाली समकालीन संस्करण (NCV)
येशू मन्दिरका चोकहरूमा आउनुभयो, अनि, उहाँले शिक्षा दिँदैगर्दा मुख्य पूजाहारीहरू अनि जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?” येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। यदि तिमीहरूले जवाफ दियौ भने, म तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्दैछु भनी भन्नेछु। यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” तिनीहरूले आपसमा छलफल गरे अनि भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौं भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्वास गरेनौ’ भनी भन्नेछन्। तर यदि हामीले ‘मानिसबाट’ हो भन्यौं भने हामीलाई मानिसहरूको डर लाग्छ, किनकि तिनीहरू सबैले यूहन्नालाई अगमवक्ता भनी मान्छन्।” त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौं।” तब उहाँले भन्नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु त्यो भन्दिनँ। “तिमीहरू के सोच्छौ? एकजना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गए अनि भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे।’ “त्यसले जवाफ दियो, ‘म जान्नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्यो अनि गयो। “तब ती बुबा अर्को छोराकहाँ गए अनि त्यही कुरा भने। त्यसले जवाफ दियो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन। “ती दुईमध्ये कसले बुबाले इच्छा गरेको कुरा गरे?” तिनीहरूले भने, “पहिलोले।” येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्। किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, अनि तिमीहरूले उनलाई विश्वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्चात्ताप गरेर विश्वास गरेनौ।
मत्ती 21:23-32 पवित्र बाइबल (NERV)
येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?” येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु। मलाई भन: यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो?” मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’ भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।” त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।” तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु। “तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’ “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो। “त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन। “अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो?” यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाँहिले।” येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्। यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।
मत्ती 21:23-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो। त्यस बेला मुख्य पूजाहारी र अरू अगुवाहरूले उहाँकहाँ आएर उहाँलाई सोधे, “तपाईंले कहाँबाट अधिकार पाएर यी काम गर्दै हुनुहुन्छ? यो अधिकार तपाईंलाई कसले दियो?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई जवाफ दियौ भने मैले कहाँबाट अधिकार पाएर यी काम गर्दै छु, त्यो तिमीहरूलाई भन्नेछु। लौ भन, यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?” यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामीहरूले के जवाफ दिऔं? परमेश्वरबाट भनौं भने ‘तिमीहरूले यूहन्नालाई किन विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्नेछन्। यदि मानिसबाट भनौं भने हामीहरूलाई मानिसहरूले मार्ने डर हुन्छ किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनेर मान्छन्।” यसकारण तिनीहरूले येशूलाई भने, “खै, हामीलाई त थाहा छैन।” तब येशूले भन्नुभयो, “त्यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्दिनँ।” अनि येशूले अझै भन्नुभयो, “तिमीहरूको के विचार छ? एक जना मानिसका दुई छोरा थिए। तिनले जेठोकहाँ गएर भने, ‘ए छोरा, आज तैँले दाखबारीमा गएर काम गर्नू है’। ‘म त जान्नँ!’ उसले बुबालाई भन्यो। तर पछि उसको मन फेरियो र काममा गयो। अनि बुबाले गएर अर्को छोरालाई पनि त्यसै भने। ‘हुन्छ, बुबा!’ त्यसले भन्यो। तर काममा चाहिँ गएन। अब यी दुई छोरामा कुनचाहिँले बुबाको आज्ञा मान्यो?” “दाजुचाहिँले!” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, कर उठाउने र वेश्याहरू त तिमीहरूभन्दा पहिले परमेश्वरको राज्यमा पस्छन् किनभने बप्तिस्मा दिने यूहन्ना सत्य बाटो देखाउन तिमीहरूकहाँ आए, तर तिमीहरूले विश्वास गरेनौ। बरु कर उठाउने र वेश्याहरूले चाहिँ विश्वास गरे। यी कुराहरू देखेर पनि तिमीहरूले आ-आफ्ना पापलाई मानेर छोडेनौ र उनलाई विश्वास गरेनौ।”