YouVersion लोगो
खोज आइकन

मत्ती 21:19-32

मत्ती 21:19-32 NCV

बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, तर त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्‍नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो। जब चेलाहरूले यो देखे, तिनीहरू छक्‍क परेर सोधे, “यो अञ्जीरको रूख कसरी यति चाँडो ओइलायो?” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ, र शङ्का गरेनौ भने यस अञ्जीरको रूखलाई जे गरिएको थियो, तिमीहरूले त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई ‘तँ जा, गएर आफूलाई समुद्रमा फ्याँक्’ भन्यौ भने त्यो भइहाल्नेछ। तिमीहरूले विश्‍वास गरेर प्रार्थनामा जे माग्छौ, त्यो तिमीहरूले पाउनेछौ।” येशू मन्दिरका चोकहरूमा आउनुभयो; अनि उहाँले शिक्षा दिँदैगर्दा मुख्य पुजारीहरू र जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?” येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। यदि तिमीहरूले जवाफ दियौ भने मैले कुन अधिकारले यी कामहरू गर्दैछु भनेर तिमीहरूलाई म भन्‍नेछु। यूहन्‍नाको बप्‍तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” तिनीहरूले आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौँ भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्‍वास गरेनौ’ भनी भन्‍नेछन्। यदि हामीले ‘मानिसबाट’ हो भन्यौँ भने हामीलाई मानिसहरूको डर छ; किनकि तिनीहरू सबैले यूहन्‍नालाई अगमवक्ता भनी मान्छन्।” त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।” तब उहाँले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ। “तिमीहरू के सोच्छौ? एक जना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गएर भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे है।’ “त्यसले जवाफ दियो, ‘अहँ, म जान्‍नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्‍यो र गयो। “तब ती बुबा अर्को छोराकहाँ गएर त्यही कुरा भने। त्यसले जवाफ दियो, ‘हवस्, म जान्छु,’ तर त्यो गएन। “ती दुईमध्ये कुन चाहिँले बुबाको इच्छा पूरा गर्‍यो?” तिनीहरूले भने, “पहिलोले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म साँच्‍चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्‍वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्। किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, र तिमीहरूले उनलाई विश्‍वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेर विश्‍वास गरेनौ।

मत्ती 21 पढ्नुहोस्